Logo

कांग्रेस-एमाले गठबन्धन सरकार निरङ्कुश बन्नसक्ने शेखरको आशंका, गलत कामको विरुद्ध आवाज उठाउन आग्रह



काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकार निरङ्कुश बन्नसक्ने आशंका दोहोर्याएका छन् । यसअघि पनि कांग्रेस–एमाले मिल्दा सरकार निरङ्कुश हुनसक्ने बताउँदै आएका डा. कोइरालाले पार्टीनिकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा आज (आइतबार) पनि सोही आशंका व्यक्त गरेका हुन् । सरकारले गलत काम गरेको खण्डमा आवाज उठाउन पनि उनले आग्रह गरे ।

‘दुईवटा ठूला दल सरकारमा छन्, नेपाली कांग्रेस र एमाले । यो दुईवटा ठूला दल एक ठाउँमा भएपछि निरङ्कुशता जन्मिने पनि धेरैलाई शंका छ । गलत कामहरु गरेकोमा हामीहरुले आवाज उठाउन सक्यौभने पक्कै पनि यो सरकार ठीक ट्रयाकमा हिँड्छ,’Þ– उनले भने ।

साथै, मुलुकको राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले गठबन्धन सरकार जोगाउनुपर्ने बाध्यता रहेको पनि उनले बताए । छ÷छ महिनामा सरकार परिवर्तन हुँदा पोलिसी पनि परिवर्तन भएको र त्यसका कारण देश पछि परेको उनको भनाइ छ । नेता डा. कोइरालाले वर्तमान सरकारले सचिवहरुको सरुवा गरेकोप्रति पनि असन्टुष्टि व्यक्त गरे ।

‘एमाले र कांग्रेसको सरकार बनेको छ । यो सरकारलाई टिकाएर कसरी लाने ? मजबुद कसरी बनाउने ? राजनीतिक स्थायित्व भएन भनेर हामीहरुले यो सरकार बनाएको हो । छ÷छ महिनामा सरकार परिवर्तन हुने, अरु देशमा पनि सरकार परिवर्तन हुन्छ, तर पोलिसी परिवर्तन हुँदैन, हामी कहाँ परिवर्तन हुन्छ । यो सरकार आउनेवित्तिकै २२ वटा सचिव परिवर्तन भए । अब फेरि कतिवटा परिवर्तन हुने हो ? यसरी गर्दा सरकारको स्थिरता आउँदैन । त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ,’– उनले भने ।

मिश्रित प्रणालीबाट चुनावमा जाँदा राजनीतिक स्थायित्व सम्भव नभएकाले संविधान संशोधनको कुरा उठेको उनले प्रष्ट पारे । कुनै दलले बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचनप्रणालीमात्रै आवश्यक रहेको उनको भनाइ छ । File Photo



प्रतिक्रिया दिनुहोस्