Logo

सार्वजनिक लेखा समितिका सभापति पोखरेलले रहस्यमय तरिकाले घटनाक्रम अगाडि बढाएको माओवादी नेता सापकोटाको आरोप



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले नेपाल विद्युत प्राधिकारणका दुई जना सदस्यहरुलाई बर्खास्त गरिएकोप्रति आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैृ नेता सापकोटाले सरकारले नियम उल्लङ्घन गरेर उनीहरुलाई बर्खास्त गरेको बताएका हुन् । उनले सरकारले अटोक्रेशी चलाउन खोजेको आशंका व्यक्त गरे ।

‘कपिल आचार्य र भक्तबहादुर पुन दुई जनालाई सरकारले नियम उल्लङ्घन गरेर बर्खास्त गरेको छ । म यो घटनाको जोडदार ढंगले खण्डण गर्न चाहन्छु, भत्र्सना गर्न चाहन्छु । सरकार यो देशमा अटोक्रेशी चलाउन खोजिरहेको छ भन्ने कुराको आशंका व्यक्त गर्न चाहन्छु,’– उनले भने ।

अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले उपसमिति निर्माण गरेर डेडिकेटेड र ट्रंक लाईनको बक्यौता बारे अध्ययन गरेको उनले स्मरण गराए । उनले सरकारी निकाय अविच्छिन्न उत्तराधिकारी संस्था हुने बताउँदै डेडिकेटेड र ट्रंक लाईनको सन्दर्भमा त्यतिबेला भएको निर्णय कार्यान्वयन गराउनुको सट्टा सबै निर्णयलाई लत्याइएको बताए ।

साथै, उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेर र ट्रंक लाईन विवादमा रहस्यमय तरिकाले घटना क्रम अगाडि बढाएको उनको भनाइ छ । नेता सापकोटाले संसदीय मूल्य मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुनुपर्ने बताउँदै उक्त समितिको सभापति तत्काल प्रतिपक्षी दललाई दिनुपर्ने उनको भनाइ छ ।

‘संसदीय मूल्य मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ । नैतिक हो यो सरकार, यसले पारदर्शी काम गर्छ भने सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस् । अहिलेको सार्वजनिक लेखा समितिका सभापतिले रहस्यमय तरिकाले घटनाक्रम अगाडि बढाइरहनु भएको छ । यसका लागि म सभामुखबाट रूलिङ चाहन्छु,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्