Logo

हसिनाले देश छाडेपछि बंगलादेशको शासनसत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने सेनाप्रमुखको घोषणा



काठमाडौं । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

सरकारविरोधी प्रदर्शन उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । सेना प्रमुख जनरल उज जमानले देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युन लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग यस विषयमा कुरा गर्नेछौं जसमार्फत यो स्थिति समाधान गर्न सकियोस् ।’

हसिना भागेर भारत पुगेको बताइएको छ । केही बेरअघि प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भागेपछि प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । उनीहरूले यसलाई ऐतिहासिक जित भनेका छन् । बंगलादेश स्वतन्त्रतापछिकै खुसीको दिन भएको भन्दै नारा लगाएका छन् ।

हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् । बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।
शेख हसिना उडेको हेलिकप्टरमा उनकी बहिनी शेख रेहना पनि साथमा रहेकी बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्