Logo

सहकारीबाट ठगिएका जनतालाई फेरि शेयर बजारमा फसाइएको अमरेशको दाबी, चार वटा कम्पनीमा चलखेल भइरहेको खुलासा



काठमाडौं, २१ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले सहकारीबाट ठगिएका सोझा जनतालाई फेरि शेयर बजारमा फसाइएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले चार वटा कम्पनीका शेयरमा विशेष चलखेल भइरहेको बताए । उनले नेपाल फाइनन्स लिमिटेड, एनआरएन इन्फाष्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, हाथवे इन्भेस्टमेन्ट र सीडीएन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमा ब्रोकर, इन्भेष्टरको कार्टेलिङबाट मूल्य बढाइएको बताएका हुन् ।

‘नेपालका गरिब र अशिक्षित जनताले भर्खरै सहकारीमा अर्बौं रुपैयाँ गुमाएका छन् । जनताको संरक्षक सरकार हुन्छ । सहकारीलाई जसरी नियमन गरिएको छैन, त्यसैगरी अहिले कृतिम रुपमा शेयरको भाउ बढेको छ । ब्रोकर, इन्भेष्टरको कार्टेलिङबाट एक महिनामा छ सय बाट २१ सय पुगेको छ,’– उनले भने ।

उनले सो क्रममा दिपेन्द्र अग्रवाल, सन्दीप दलान, अम्बिका पौडेललगायतको नाम लिए । नेपाल फाइनन्स लिमिटेडको शेयरको मूल्य केही समयअघि प्रतिकित्ता छ सय रुपैयाँ रहेको बताउँदै उनले अहिले उक्त शेयर प्रतिकित्ता २१ सय बढीमा खरिदविक्री भइरहेको सुनाए । एनआरएन इन्फाष्ट्रक्चरको एक महिनाअघि ३ सय रुपैयाँ रहेको शेयर अहिले १ हजार ५० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको, सीडीएन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको दुई महिनाअघि प्रतिकित्ता ६५० रहेको शेयर अहिले १८ सयमा कारोबार भइरहेको र हाथवे इन्भेस्टमेन्टको केही समयअघि प्रतिकित्ता ३ सय रुपैयाँमा खरिदविक्री भइरहेको शेयर अहिले १६ सयमा कारोबार भइरहेको उनले बताए ।

यी कम्पनीको बुक भ्यालू र अन्य सूचकको आधारमा शेयर मूल्य बढ्नुको कुनै आधार नरहेको उनको भनाइ छ । नेता सिंहले अनलाइन क्लब हाउस र सोसल मिडिया प्रोपोगाण्ड गरेर शेयर बजारमा कर्नरिङको धन्दा चलिरहेको बताए । उनले शेयर बजारको कारोबारमा सरकारले नियमन नगरेको खण्डमा पुन धेरै सोझा सिधा नेपाली जनता फस्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्