Logo

वर्तमान सरकार विचौलियाले बनाइदिएको प्रचण्डको आरोप, केही व्यापारीहरुलाई राजस्व छुट दिन लागिएको दाबी



काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विचौलियाले बनाइदिएको टिप्पणी गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकार विचौलियाले बनाइदिएको र यसले तथाकथित व्यवसायीहरुलाई राज्यको राजस्व छुट दिन लागेको बताएका हुन् ।

‘दलाल, बिचौलिया, तथाकथित उद्योग व्यवसायीहरुलाई राज्यको राजस्व छुट दिने पक्षमा गएको छ । सरकारले यो दुःसाहस नगरोस्, राज्यको अर्बौं सम्पत्तिलाई छुट दिने किसिमले चलखेल नगरोस् । मलाई सबै थाहा छ, मैले बोल्छु नै एकदिन । सरकार विल्कुल गलत बाटो छ । सरकार नै बिचौलियाले बनाइदिएको छ,’– अध्यक्ष प्रचण्डले भने ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने प्रचण्डको भनाइ छ । उनले माओवादी सार्वजनिक लेखा समितिको दावेदार रहेको पनि बताए । यसलाई सरकारले गम्भीरतापूर्वक लिन आवश्यक रहेको उनले बताए । सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने दुर्भाग्य हुने उनको चेतावनी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्