Logo

प्राधिकरणको एमडीबाट कुलमानलाई हटाए देशभर आन्दोलनमा उत्रिने तामाङ मुक्ति मोर्चाको चेतावनी



काठमाडौं,२२ साउन । राष्ट्रिय तामाङ मुक्ति मोर्चाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने खेलमा सरकार लागेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार मोर्चाले एक विज्ञप्ति जारी गर्दै कुलमानलाई हटाएमा देशभार आन्दोलन गर्ने मोर्चाले चेतावनी दिएको छ । डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

‘विधिको शासन भएको मुलुकमा हरेक निर्णय प्रक्रियाको आफ्नै विधि र प्रक्रिया हुन्छ । प्रचलित विधिलाई मिचेर प्रधानमन्त्री ओलीले सीमित उद्योगीलाई साक्षी राख्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिएको ठाडो निर्देशनले हाम्रो प्रचलित राज्यको विधि र प्रक्रियामाथि प्रश्न उठाएको छ’ विज्ञप्तिमा भनिएको छ । ‘हुकुमी शैली’ मा शासन गर्न खोज्ने र त्यसैबाट परिणाम खोज्ने शासक जनताको असली प्रतिनिधि हुन सक्दैन भन्ने हाम्रो मोर्चाको ठम्याई छ । नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयको आधारमा विद्युत महसुल उठाउनका लागि लागिरहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बाँकी बक्यौता उठ्ने कुराको टुंगो नलगाई तत्काल लाइन जोड्न ठाडो निर्देशन दिने र त्यसैको आधारमा समाधान खोज्ने ओली प्रवृत्तिको जति निन्दा गरे पनि कम हुन्छ’ ।

मोर्चाले विद्युत महसुल उठ्ने ग्यारेण्टी नभएसम्म उद्योगहरुमा लाइन जोड्नुहुन्न भन्दै सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट राखेका दुई जना सञ्चालकलाई प्रतिशोधपूर्ण ढंगबाट बर्खास्त गर्ने कामले सरकार कसको पक्षमा उभिन खोजेको छ भन्ने छर्लङ्ग भएको जनाएको छ ।

‘मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत महशुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब वक्यौता रकम असुलीको लागि चट्टानझैँ उभिएका कार्यकारी निर्देशक घिसिङको ऐतिहासिक योगदानलाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चाले सरकारको ध्यानकर्षण गराउन चाहन्छौ । विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ । प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरुले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन हाम्रो आन्दोलनमा ऐक्यवद्धता जनाइ दिनुहुनका लागि आम नागरिकमा हामी हार्दिक अपिलसहित विनम्रतापूर्वक अनुरोध समेत गर्न चाहन्छौं’ मोर्चाले भनेको छ ।



प्रतिक्रिया दिनुहोस्