Logo

अब म जनतामा जान्छु, सत्ताको चलखेलमा लाग्दिनँः प्रचण्ड



काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू पार्टी निर्माणका लागि जनतामाझ जाने बताएका छन् । आज (मंगलबार) कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आगमी तीन वर्ष सत्ताको चलखेलमा नलाग्ने बताएका हुन् ।

माओवादी केन्द्र कोशी प्रदेश समितिका अध्यक्ष हर्क नेम्वाङले बताएअनुसार माओवादीले ०८४ सालको निर्वाचन आफ्नै बलमा लड्नुपर्नेमा जोड दिएका थिए । ‘म जनतामा जान्छु भन्ने कुरामा उहाँको एकदमै जोड रह्यो । अब सत्ताको चलखेलमा म लाग्दिँन । अब तीन वर्ष म सत्ताभन्दा बाहिर नै रहेर पार्टी निर्माणमा फिल्डमा जान्छु, जनतासँग फिल्डमा जाने योजना बन्छ । २०८४ सालसम्म पुग्दा माओवादी एक्लै चुनावमा जानेगरी पार्टी निर्माण गरिन्छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै नेम्वाङले भने ।

साथै, प्रचण्डले दलहरुबीचको एकता अभियानलाई छिट्टै निश्कर्षमा पुर्याइने पनि जानकारी गराएका थिए । वामपन्थीहरुको बीचमा हुने सहकार्य र मोर्चालाई अगाडि बढाउनका निमित्त पहल गर्ने पनि प्रचण्डले बताएका थिए ।

आफूले नेतृत्व गरेको सरकारले चालेका सुशासन, समृद्धि र भ्रष्टाचारविरोधी कदमलाई वर्तमान सरकारले धावा बोल्ने दुष्प्रयास गरेको पनि प्रचण्डले बताएका थिए । प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको जनपक्षीय काम उल्ट्याउन चलखेल भएमा सडकबाटै प्रतिवाद गर्नुपर्ने पनि बताए ।

त्यस्तै, कांग्रेस–एमालेसहितको गठबन्धनमा बनेको वर्तमान सरकार लामो समय अगाडि जानेमा आम जनतामा शंका रहेको प्रचण्डले बैठकमा बताएका थिए । तर, माओवादी सत्ता गिराउने र बनाउने खेलमा नरहेको पनि प्रचण्डले प्रष्ट पारेका थिए । ‘यो सरकार लामो समय जान्छ भन्ने कुरामा आम जनमानसमा शंका छ । भरसक यो सत्ता गिराउने, सरकार बनाउने खेलमा नलागौं भन्नैमै उहाँको जोड रह्यो,’– प्रचण्डको भनाइ उद्धृत गर्दै नेम्वाङले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्