Logo

रास्वपाका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेः चित्रबहादुर केसी (भिडिओसहित)



काठमाडौं, २३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफूलाई नयाँ जोगी हुँ भनेर चिनाउन बढी खरानी घसेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चार दिन सार्वजनिक बसमा चढेर रास्वपाका नेताहरुले आफ्रहरु अर्कै संसारबाट आएको जस्तो गरेको बताए । उनले घरमा चिल्ला गाडी राखेर सार्वजनिक यातायात चढ्नुको कुनै औचित्य नरहेको बताए ।

रास्वपाले आफ्ना नेताहरुलाई पाँच दिन सार्वजनिक बस चढेर यात्रा गर्न निर्देशन दिएको थियो । रास्वपाका नेताहरु सार्वजनिक बसमा चढ्दा मिडियालाई समेत सँगै लगेर स्ट्रन्ट गरेको आरोप लागिरहेको छ ।

‘नयाँ जोगीले धेरै खरानी घस्छन् । पुराना जोगीले बरु त्यो छोड्दै जान्छन् । आफ्नो घरमा चिल्ला गाडी राखेर सार्वजनिक बसमा चार दिन हिँडेर के खिसीट्यूरी गरेको ? सुहाउँछ त्यो ? सार्वजनिक यातायातमा वर्षौदेखि केटाकेटी, विरामी अशक्तले कति दुःख पाइरहेका छन् । अब उनीहरुले देख्दै नदेखेजस्तो गरेर, अर्कै संसारबाट आएको जस्तो गरेर त्यो बेकारको तमासा हो,’– उनले भने ।

आफूले लामो समयदेखि सार्वजनिक यातायात चढेर यात्रा गरिरहेको बताउँदै उनले अहिलेसम्म कुनै सुधार नआएको बताए । सार्वजनिक यातायातको सन्दर्भमा राज्यले नियमन र अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्