Logo

अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो मुद्दाको फैसला हुँदै



काठमाडौं,२३ साउन । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउँदैछ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाइने भएको छ ।

विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले असार १२ का लागि निसु तोकेको थियो । तर, सापकोटाको निसु तोकिएपछि संवैधानिक इजलासमा रहेका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत बागलुङको निरीक्षण भ्रमणमा निस्किएपछि सापकोटाको मुद्दा पेसीमै नचढी स्थगित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा यो मुद्दा सुनुवाइ भएको हो । लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्