Logo

टीआरसी विधेयक अगाडि बढ्नेमा माओवादीमा अझै आशंका, विगतमा पनि तीन पटक विथोलिएको थियो सहमति



काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले टीआरसी विधेयकमा विगतमा पनि तीन पटक सहमति जुटेर विथोलिएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विधेयकको विवादित विषयमा कार्यदलले सहमति जुटाएर प्रतिवेदन बुझाएपनि विधेयक पारित भएर ऐन बन्ने कुरामा अझै पनि आशंका रहेको बताएका हुन् । उनले आफूहरु यस पटक सहमति नविथोलियोस् भन्ने पक्षमा रहको बताए ।

‘अहिले सदनबाट विधेयक बनाउने बारेमा अन्तरवस्तुहरुमा सहमति जुटेको अवस्था छ । प्रक्रियागत रुले सदनबाट पारित भइसकेको त छैन । यो सकारात्मक कुरा हो, यसमा विमतिको कुरा नै रहेन । तर, यस प्रकारको सहमति यो भन्दा अगाडि पनि मलाई सम्झना भएअनुसार तीन पटक भएको थियो । तीनै पटक प्रक्रिया अगाडि बढ्ने क्रममा विथोलिएको अवस्था छ । त्यसकारणले गर्दा अहिले पनि सहमति भएको छ । यो पहिलेको जस्तै पुनरावृत्ति नहोस्, विथोलिने प्रक्रिया नहोस् भन्ने हामी कामना गर्न चाहन्छौं,’– उनले भने ।

बेपत्ता पारिएको व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा विवादित विषयमा सहमति जुटाउने बनेको कार्यदलले हिजो तीन दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक (तत्कालीन अवस्था) रमेश लेखकसहितको ३ सदस्यीय कार्यदलले विभिन्न ४ बुँदे सहमति जुटाएको थियो ।

मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषाको सन्दर्भमा, मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेको सम्बन्धमा, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्तिहरु र मृत्यु भएका, घाइते तथा अपाङ्ग भएका सुरक्षाकर्मी वा उनीहरुको परिवारका सन्दर्भमा र घटी सजायको माग दाबीका सम्बन्धमा कार्यदलले सहमति जुटाएर तीन दलका शीर्ष नेताहरुलाई हस्तान्तरण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्