Logo

नेपालको स्थिति बंगलादेश र श्रीलङ्कासँग जोडेर व्याख्या विश्लेषण गर्नु गलत हुन्छः आनन्द पोखरेल (भिडिओसहित)



काठमाडौं, २४ साउन । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नेपालको स्थिति बंगलादेश र श्रीलङ्कासँग जोडेर व्याख्या विश्लेषण गर्नु गलत रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ बनाउन, लोकतान्त्रलाई सवलीकरण गर्न, संविधानलाई कार्यान्वयन गर्न र विकास निर्माणका कार्यलाई अगाडि बढाउन दल र नेतृत्वहरुले काम गरिरहेको बताए । उनले नेपाल कहिले पनि श्रीलङ्का र बंगलादेशको अवस्थामा नपुग्ने बताएका हुन् ।

साथै, २०६२/०६३ को क्रान्तिपछि जनताले राखेको अपेक्षा पूर्ण रुपमा पूरा गर्न नसकेको उनले स्वीकार गरे । उनले सोही कमजोरीलाई टेकेर अहिले केही दलहरुले मुलुकलाई अस्थिरतातिर लान खोजिरहेको बताए । उनले जनताको भावनामाथि खेलेर ल्याउन खोजिएको उथलपुथल क्षणिक हुने बताए ।

‘२०६२/०६३ सालको क्रान्तिपछि जनताको अपेक्षा अलि बढी र नयाँ परिवर्तन र व्यवस्थाले विकास निर्माण र अपेक्षाहरु पूरा गर्न सक्छ भन्ने जनताको आशा छ । हामीले २०६२/०६३ पछि पनि त्यो आशालाई पूरा गर्न नसकेको स्थिति हो । त्यसले गर्दा नेपाली जनतामा नैराश्यकता देखिएको छ । कतिपय राजनीतिक दलहरुले त्यही अस्थिरतामा खेलेर मुलुकमा अस्थिरता खडा गर्न सकिन्छ कि भनेर अलिकति मुलुकलाई गिजोल्ने, धकेल्ने प्रयास देखिएका छन् । यी चिजहरु अस्थिर हुन् । यसले कुनै उथलपुथल ल्याउँछ जस्तो मलाई लाग्दैन,’– उनले भने ।

साथै, सबै दलको सहमति गरेर संविधान संशोधन हुने पनि उनले बताए । चुच्चे नक्साको सन्दर्भमा सबै दलहरु एक ठाउँमा आएको बताउँदै उनले अहिले पनि राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन हुने बताए । संविधान संशोधनको विषयलाई लिएर धेरै आत्तिनुपर्ने, पक्ष र विपक्षमा रहेर बहस गर्न आवश्यक नरहेको उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्