Logo

टीआरसी विधेयकमा तीन दलका शीर्ष नेताहरु पेलेरै अगाडि बढ्न खोजेः नागरिक समाजका अगुवा दीक्षित



काठमाडौं, २४ साउन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) संशोधन गर्न बनेको विधेकमा तीन दलका शीर्ष नेताहरुले पेलेर जान खोजेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पीडित, मानव अधिकारको क्षेत्रमा काम गरिरहेको निकाय र व्यक्तिहरुसँग कुनै छलफल नै नगरी तीन दलका नेताहरु पेलिरै अगाडि जान खोजेको बताएका हुन् ।

‘टीआरसीमा पीडितको कुरा कतै पनि सुनिएको छैन । यो पीडितमैत्री छ भनिरहेका छन्, जबकी पीडितहरुले हाम्रो कुरा सुनिएको छैन भनिरहेका छन् । कतै पनि छलफलमा एउटा पीडित आएको पनि देखिएको छैन । मानव अधिकारसम्बन्धि कुरा गर्ने कोही व्यक्ति देखिएको पनि छैन । मानव अधिकार आयोगको कुनै व्यक्तिसँग कुरा गरेको देखिएको पनि छैन । तीन वटा दल मिले, तीन वटा टाउके मिले, यो त पेलेरै जाने अवस्था देखियो,’– उनले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले बालेन शाहसँग जोरी खोज्दै हिँड्न नसुहाउने उनको भनाइ छ । बालेनसँग जोरी खोजेर ओलीले आफ्नो स्तर घटाएको उनले बताए । प्रधानमन्त्रीले मेयरसँग जोरी खोज्नु स्वभाविक नहुने उनको बुझाइ छ । ‘आज बालेन्द्रसँग केपी शर्मा ओलीले टक्कर गर्ने हो ? आफ्नो स्तरमा पो बस्नुपर्छ त । प्रधानमन्त्री भएको छ, दुई तिहाइको सरकार छ । उसले मेयरसँग जोरी खोज्ने हो ? उसले १० हजार करोडको चार्ज गर्यो । उ क्लियर छ, उसले गर्नपर्छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले अदालतको फैसला लत्याएर बोलेनले गरेको काम रोक्न मान्छे उतारेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री ओली पहिलेको भन्दा परिवर्तन नभएको र झन–झन प्रतिशोधको राजनीति गरिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्