Logo

प्रतिनिधि सभाअन्तर्गतको कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पारित



काठमाडौं, २४ साउन । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । आज (बिहीबार) बसेको समितिको बैठकबाट सो विधेयक सर्वसम्मतीले पारित गरिएको हो ।

विधेयकका सन्दर्भमा देखिएका विवादमा सहमति जुटाउनका लागि कार्यदल गठन भएको थियो ।विधेयकका सन्दर्भमा देखिएका विवादमा सहमति जुटाउनका लागि कार्यदल गठन भएको थियो ।

सो कार्यदलले विवादित विषयहरु मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषा, मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेको सम्बन्धमा, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्तिहरु र मृत्यु भएका, घाइते तथा अपाङ्ग भएका सुरक्षाकर्मी वा उनीहरुको परिवारका सन्दर्भमा र घटी सजायको माग दाबीका सम्बन्धमा सहमति जुटाएको थियो ।

कार्यदलले हिजो तीन दलका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएसँगै आज छलफलका लागि समितिमा पेश भएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा समितिकी सभापति विमला सुवेदीले प्रस्तुत गरिएको रूपमै विधेय सर्वसम्मतीले पारित भएको घोषणा गरिन् । समितिबाट पारित भएको विधेयकलाई संसद्को अर्को बैठकमा पेश गर्ने गरी पत्राचार गरिने पनि उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्