Logo

पछिल्ला दुई वटा हवाई दुर्घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने देखियोः मन्त्री गुरुङ



काठमाडौं, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पछिल्ला दुई वटा विमान दुर्घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने पुष्टि भएको बताएका छन् । आज (बिहीबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले हवाइ दुर्घटनाले नेपालको पर्यटन र लगानीको क्षेत्रमा समेत असर पारिरहेको बताए ।

‘नेपाली आकाश अझै सुरक्षित बनाउन सकेका छैनौं हामीले । हिजोको घटना एकदम दुःखद् घटना हो । असाधरण घटना, बारम्बार यस्तो घटना, यो नयाँ सरकार आएपछि हामीले दुईवटा शोक वक्तव्य जारी गरिसक्यौं । त्यसकारणले नेपाली आकाश सुरक्षित छैन भन्ने कुरा देखायो । यस कुराले सिंगो पर्यटन क्षेत्र प्रभावित छ । हिजोको दुर्घटनामा चाइनिजहरु भ्रमणमा गएको होईन, कुनै न कुनै लगानीको क्षेत्र अवलोकन गर्न गएको देखियो । विदेशी लगानीलाई पनि यसले धेरै प्रभाव पारिराखेको छ,’– उनले भने ।

गत साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना भएको थियो । सो दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका थिए । त्यस्तै, हिजो नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित पाइलट अरुण मल्लको निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्