Logo

कुलमानको प्रष्टोक्तिः सरकार र प्राधिकरणबीच कुनै मतभेद छैन



काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकार र प्राधिकरणबीच कुनै मतभेद नरहेको बताएका छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले सरकार र प्राधिकरणबीच मिसअन्डस्ट्यानिङ नभएको बताएका हुन् । उनले प्राधिकरण पनि सरकारकै अंग भएको बताउँदै सरकारको निर्देशन ग्रहण गरिरहेको बताए ।

उनले प्राधिकरणले कहिले पनि सरकारको विरुद्धमा काम नगरेको पनि प्रष्ट पारे । डेडिकेटेड ट्रङ्क लाईन विवादका सन्दर्भमा सरकारले विभिन्न समयमा समितिहरु गठन गरेर अनुसन्धान गरेको र प्राधिकरणले पाउनुपर्ने पाउनुपर्छ भनेर निर्णय गरेको उनले बताए ।

‘त्यस्तो कुनै मिसअन्डस्ट्यानिङ भएको छैन । विद्युत प्राधिकरण सरकारकै एउटा अंग हो । प्राधिकरणले गरेका र सरकारले दिएका निर्देशनहरु प्राधिकरणले पनि ग्रहण गर्नुपर्ने हुन्छ । हामीले सरकारको विरुद्धमा काम गरेजस्तो पनि लाग्दैन । सरकारले पनि विद्युत प्राधिकरणले नाजाहेज काम गर्यो भनेर अहिलेसम्म भनेको छैन । उहाँहरुले पनि पटक–पटक छानविन समिति गठन गरेर प्राधिकरणले लिनुपर्ने विषयहरुलाई लिनुपर्छ भनेर नै पठाउनु भएको छ,’– उनले भने ।

पछिल्लो समय प्राधिकरणले डेडिकेटेड ट्रङ्क लाईन बक्यौता भुक्तानी विवादमा ६ वटा उद्योगको लाइन काटेको थियो । सोही विषयमा सरकार र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच सम्बन्ध चिसिएको धेरैको अनुमान थियो । Photo By Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्