Logo

व्यक्तिबारे म भन्न सक्दिँन, तर एकीकृत समाजवादी र एमालेबीच कुनै दिन एकता हुन्छः रामकुमारी झाँक्री (भिडिओसहित)



काठमाडौं, २६ साउन । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले र एकीकृत समाजवादीको कुनै दिन एकता हुने बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले के गर्छन् भन्ने कुरा भन्न नसके पनि एकीकृत समाजवादी र एमालेबीच एकता भएरै छाड्ने बताएकी हुन् । नयाँ बनेको भर्खरै तीन वर्ष भएको स्मरण गराउँदै उनले एकीकृत समाजवादीलाई एमालेकै एउटा अंशको रुपमा ब्याख्या गरिन् ।

आफू एकीकृत समाजवादी छाडेर कांग्रेसमा नजाने बताउँदै उनले भनिन्, ‘एमालेमा हाम्रो पार्टी एकता हुनसक्छ, असम्भव कुरा के छ र ? समय वलवान हुन्छ । व्यक्तिको बारेमा के हुन्छ म भन्न सक्दिँन, पार्टीको कुनै दिन एकता हुनसक्छ । हामी पार्ट अफ दि एमाले हो,’– उनले भनिन् ।

साथै, उनले पार्टीको साइजअनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटी ठूलो भएको बताईन् । समावेशी समूहको ४५ प्रतिशत पूरै नयाँ थप्दा केन्द्रीय कमिटी ठूलो देखिन गएको उनको भनाइ छ । ‘पार्टीको साइजको अनुपातमा त ठूलो भयो हाम्रो पनि । राष्ट्रिय पार्टी पनि नभएको पार्टीको यति ठूलो केन्द्रीय कमिटी चाहिने थिएन । समावेशीको ४५ प्रतिशत हामीले पूरै नयाँ थप्यौं । त्यो हामीले मात्रै होईन । एमालेको ८औं महाधिवेशनदेखि नै कमिटी ठूलो भयो,’– उनले भनिन् ।

‘एकीकृत समाजवादी छोड्ने निर्णयमा पुग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले पार्टी छाड्ने दिन कार्यक्रम राखेर नै जानकारी गराउने बताईन् । उनले पार्टी छाड्ने कुरा आफ्नो व्यक्तिगत निर्णयमात्रै नभएर समूहमा हुने बताईन् । ‘छोड्दाको दिन तपाईको टेलिभिजनलाई राखेरै कार्यक्रम गरौंला नि । त्यो निर्णय मेरो व्यक्तिगत निर्णय चाहीँ हुँदैन । व्यक्तिगत निर्णय गर्ने भए मेरा लागि धेरै अप्सन र ठाउँहरु पनि हुनसक्थे । तर, म आजको कलेक्टिभ र टिमवर्कमा विश्वास गर्ने मान्छे हो । त्यसकारण मेरो निजी आकांक्षा र निजी लाभका कुरै होईनन्,’– उनले भनिन् । File Photo



प्रतिक्रिया दिनुहोस्