Logo

राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा ल्याउँदिनँः प्रधानमन्त्री ओली



काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । आज (शनिबार) ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापन र प्रथम क्याबिनेटलाई सम्बोधन गर्दै उनले राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा नल्याउने बताएका हुन् । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ,’– प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले बताए । उनले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने पनि बताए । उनले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।

अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको बताउँदै उनले भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने समृद्ध नेपालको परिकल्पना सार्थकता नरहने बताए ।



प्रतिक्रिया दिनुहोस्