Logo

प्रचण्डले माधव नेपालबाट धोका खान बाँकी छ, पार्टी एकता मलाई चाहीँ पत्यार लाग्दैनः माओवादी नेता बिडारी (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले एकीकृत समाजवादीसँगको पार्टी एकताले माओवादीलाई कुनै फाइदा नहुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब माओवादी कुनै पनि दलसँग एकतामा जान नहुनेर आफ्नै दर्शन, सिद्धान्त, दृष्टिकोण र कार्यनीति बनाएर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको जारी स्थायी समिति बैठकमा बृहत वामपन्थी एकताको प्रस्ताव गरेका थिए । प्रचण्डले समाजवादी मोर्चामा रहेको दलहरु एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, महिन्द्र राय नेतृत्वको नेसपालगायतका दलहरुसँग एकता प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।

उक्त प्रस्तावप्रति विमत्ति राख्दै नेता बिँडारीले प्रचण्डले अब धोका खान बाँकी माधव नेपालसँग मात्रै रहेको टिप्पणी गरे । उनले एकीकृत समाजवादीसँग एकता भएपनि त्यो एकता धेरै लामो समय टिक्न नसक्ने संकेत गरे । एकतामा आफूलाई पत्यार नरहेको उनको भनाइ छ । ‘अब एकचोटी माधव नेपालजीबाट धोका खान बाँकी छ । एउटा सम्भावना त्यो छ । माओवादीलाई धोका दिएर हिँडेकाहरुलाई फेरि ल्याउन सकिन्छ कि भन्ने प्रयास छ । विप्लवजी, वैद्यजीका हाँगाविँगाहरु छन् । वैद्यजी आफैं चाहीँ मलाई त्यति पत्यार लाग्दैन,’– उनले भने ।

नेता बिडारीले माओवादी कमजोर भएसँग प्रचण्डले एकतको प्रस्ताव अगाडि सारिरहेको बताए । उनले एकताबाट भन्दा पनि काम गरेर पार्टीलाई शक्तिशाली बनाउने सकिने बताए । काम नगर्ने हो भने फटाह, तस्कर, बेइमान, ढुलमुले, संशोधनवादी, प्रतिक्रियावादीलगायत जोसँग भएपनि मिलेर काल पर्खिने बाटोमात्रै हुने उनको भनाइ छ । ‘यो सबै कुरा आफू कमजोर भएपछि गर्ने कुरा हुन् । आफ्नो सिद्धान्त, दृष्टिकोण, लगानी नभएपछि यसो गरिन्छ । आफू शक्तिशाली बन्न आफैंले काम गर्नुपर्यो । नत्र फटाह, तस्कर, बेइमान, ढुलमुले, संशोधनवादी, प्रतिक्रियावादीसँग जो–जोसँग मिलेर भएपनि काल कटाउने कुरामात्रै हुन्छ,’ – बिडारीले भने ।

नेता बिडारीले एमालेसँग अब माओवादीको एकता हुनै नसक्ने बताए । आफूले भन्दाभन्दै नपत्याएर प्रचण्डले बीचमा सहकार्य गर्न खोज्दा सरकारबाट बाहिरिनुपरेको उनले सुनाए । एकीकृत समाजवादीमा रहेको नेताहरु एमालेका नेताहरुभन्दा पनि कठोर र कप्टी रहेका उनको आरोप छ । उनले माधव नेपाल प्रधानमन्त्री भएको बेला माओवादीले ६ दिने नेपाल बन्द गर्दाका नराम्रो व्यवहार गरेको स्मरण गराए । सत्तामा पुगेपछि माधव नेपालले के गर्छन् भन्ने कुरा प्रचण्डलाई पनि राम्रोसँग थाहा रहेको बताए । ‘ओलीजीकोमा भन्दा माधवजीकोमा बस्ने मान्छेहरु झन कठोर देखिन्छ । झन कप्टी देखिन्छन् । त्यसकारणले माधवजीसँग एकता गर्छु भनेर भन्नुभएको छ, हाम्रो एकचोटी माओवादीले ६ दिने नेपाल बन्द कार्यक्रम राखेर आन्दोलन गर्न लागेको थियो, त्यो बेला माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ सत्तामा भए के गर्नुहुन्थ्यो भन्ने कुरा प्रचण्डलाई राम्रोसँग थाहा छ,’– उनले भने ।

नेता बिडारीले कोही आफैं समावेश हुन आएमा स्वीकार्नु ठीक हुने तर, अहिले कसैसँग मिल्न नहुने बताए । कुनै फल खान पनि रोप्नुपर्ने, गोडमेल गर्नुपर्ने र केही समय पर्खिनुपर्ने उद्धाहरण दिँदै उनले माओवादीका नेताहरुले अब कोहीसँग मिलेर नभइ आफ्नै संगठन बनाउने र पार्टीको काम गर्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्