Logo

जनार्दनलाई माधवको जवाफः म पनि युवा नै हुँ, तर प्रचण्डले नेतृत्व छाडेर समस्याको समाधान हुँदैन (भिडिओसहित)



काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाड्दैमा अहिलेको विद्यामान समस्या समाधान हुन नसक्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही क्रमभंगतासँग प्रचण्डकै वरिपरीबाट नयाँ ढंगको नेतृत्व विकास गर्नुपर्ने आवश्यक्ता भने रहेको बताए । तर, मूल नेतृत्वबाट प्रचण्डलाई हटाएर समस्याको समाधान खोज्नुपर्छ भन्ने कुरा समाधानको विकल्प नहुने उनको भनाइ छ ।

‘प्रचण्डले मूल नेतृत्व छोडेर समाधान निस्किन्छ भन्ने निश्कर्षमा म चाहीँ छैन । म पनि युवा नै हुँ, म अहिले के निश्कर्षमा छैन र होईन भने पार्टीको प्रमुख नेतृत्व प्रचण्डले छोडेर अरु कसैले नेतृत्व लिँदा समस्याको समाधान हुन्छ भन्नेमा म छैन । तर, नेतृत्वको विन्यास, नेतृत्वको निर्माण, उत्तराधिकारीहरुको जखेबन्दी गर्ने, अहिले जे सोपानक्रम छ, यसलाई जस्ताको तस्तै राखेर पनि हल हुँदैन । हामीले नयाँ तरिकाले सोच्न जरूरी चाहीँ छ । यसमा केही क्रमभंग गर्ने, मूल नेतृत्वको हकमा प्रचण्डकै वरिपरीबाट नयाँ ढंगको नेतृत्वको विकास गर्ने कुराले मात्रै आजका समस्या समाधान गर्न सकिन्छ । जे हल्ला गरिराखिएको छ–प्रचण्ड असफल भए, हटाउने भनेर । यो कुनै छलफलको तरिका पनि होईन, त्यसले समाधान पनि दिँदैन,’– उनले भने ।

माओवादीको स्थायी कमिटी बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्ड संरक्षकको भूमिकामा र अहिले पदाधिकारी रहेकाहरु सल्लाहकार बनेर तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेका थिए । उपमहासचिव शर्माको प्रस्तावले माओवादीमा हलचल ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्