Logo

कांग्रेस र एमालेका गुटलाई भाग पुर्‍याउन कोशी र गण्डकीमा मन्त्रालय फुटाउने तयारी



काठमाडौं,२८ साउन । केन्द्रमा बनेको सत्ता समीकरण अनुसार ५ प्रदेशमा सत्ता समीकरण फेरिएर सरकार पुनर्गठन हुँदापनि कोशी र गण्डकीमा भने सरकार पुनर्गठन हुन सकेको छैन् ।

कोशीमा एमाले र गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार छ । गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कोशी एमालेको र गण्डकी कांग्रेसको भागमा परेको छ । सोही अनुसार अब कोशीमा कांग्रेस र गण्डकीमा एमाले सरकारमा सामेल हुनेछन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएको डेढ महिना हुँदा पनि पुनर्गठन हुन नसकेको दुई प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रीको संख्या थप्ने तयारी भएको छ । हाल मुख्यमन्त्रीसहित ९ मन्त्रालय रहेको कोशीमा मन्त्राल फुटाएर ११ पुर्याउने मुख्यमन्त्री हिक्म्तकुमार कार्कीले तयारी गरेका छन् ।

कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिने समझदारी यसअघिनै बनेको थियो । तर, कांग्रेसलाई मन्त्री छान्न सकस पर्दा मन्त्रालय नै फुटाएर मन्त्री थप्ने तयारी मुख्यमन्त्री कार्कीको रहेको छ । मन्त्रालय फुटाउने तयारीको संकेत कार्कीले आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नै गरिसकेका छन् ।

‘हामी सरकारलाई पूर्णता दिने कुरामा केही मन्त्रालयको सङ्ख्या बढाउने हो कि भन्ने कुरा पनि छ । सकेसम्म हाम्रो प्रयास अहिलेकै मन्त्रालय सङ्ख्यामा मिलाउने कुरा भएको छ । प्रदेशको मन्त्रालयको सङ्ख्या अधिकतम भनेको ११ वटा हो । त्यहाँभन्दा माथि हामी जान सक्दैनौँ,’ मुख्यमन्त्री कार्कीले भने ।

उता गण्डकीमा पनि कोशीकै हाल भएको छ । सत्ता जोगाउनका लागि साथ दिएका स्वतन्त्र सांसद दिपक मनाङे । नेसपाका सांसद फणीन्द्र देवकोटालाई फाल्नेकी राख्ने भन्ने विवाद हुँदा मन्त्रालय भागबन्डाको गाँठो फुक्न सकेको छैन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उनीहरुलाई साथमै राख्ने र बाँकी २ मन्त्रालय एमालेलाई दिने योजनामा छन् । तर,एमाले मनाङे र देवकोटालाई सरकारमा राख्ने पक्षमा छैन् । दुई दलबीच कुरा नमिलेपछि मन्त्रालय फुटाउन कार्यदल समेत बनाईएको छ । कार्यदलले पनि काम पूरा गर्न नसकेपछि गण्डकी सरकारको विवाद केन्द्रमा आईपुगेको छ । केन्द्रले नै अब सरकार विस्तार र मन्त्रालय भागबन्डा टुंग्याउने तयारी छ ।

कोशीमा कांग्रेसको संस्पन पक्ष, संस्थापन इतर र नेता कृष्णप्रसाद सिटौला गरी तीनवटा गुट सक्रिय छन् । सिटौला, र संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाको गृह प्रदेश रहेको हुँदा कोशीमा भागबन्डा टुंग्याउन सकस परेजस्तै गण्डकीमा पनि एमालेका तीन गुट छन् । पूर्व मुख्यमन्त्रीद्धय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीसँगै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको गुट गण्डकीमा सक्रिय रहेको छ ।

स्थायी समिति सदस्य अधिकारी एमाले उपमहासचिव शंकर पोखरेल निकट हुन, भने संघीय सरकारका सञ्चारमन्त्री गुरुङ उपप्रधान तथा अर्थमन्त्री रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल पक्षका हुन् उता पौडेल पक्षकै मानिने मञ्जुदेवी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन् । उनीहरु मितिनीसमेत हुन् । गण्डकीमा एमालेका यी तीनओटै गुटले आ आफ्नो निकटका सांसदलाई मन्त्री बनाउन चाहेका छन् । कोशीमा कांग्रेसका तीन गुटजस्तै गण्डकी एमालेका तीन गुटलाई भाग पुर्याउनकै लागि दुवै प्रदेशमा मन्त्रालय फुटाउने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्