Logo

रविलक्षित मुकुलको टिप्पणीः‘एक पटक नागरिकता त्यागेको व्यक्ति उच्च ओहदामा पुग्दा देश त्याग्ने मनोविज्ञान नआउला भन्न सकिँदैन’



काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्काशित महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे सुझाव पेश गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न आज विहान बालुवाटार पुगेका मुकुलले एक पटक नागरिकता त्यागेका व्यक्तिले पुनः नागरिकता प्राप्ति गरेपछि राज्यको उच्च ओहदामा नियुक्ति वा मनोनित गर्न नसकिने गरी संविधान संशोधन गर्न आग्रह गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले वयस्क भइर नागरिकता त्यागेको व्यक्ति पुनः नागरिकता प्राप्ति गरेर उच्च ओहदामा पुग्दा राष्ट्र नै त्यागिदिने मनोविज्ञान आउनसक्ने खतरा औंल्याएका छन् । संविधानको धारा २८९ (१) को मर्म कार्यान्वयनका लागि उक्त व्यवस्था आवश्यक गरेको उनको सुझाव छ ।

‘एक पटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरि नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई नेपालको संविधानको धारा २८९ (१) बमोजिम मनोनयन वा नियुक्त हुन दिनुहुँदैन । वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्वपूर्ण उच्च ओहदामा नियुक्त हुँदा ती व्यक्तिको मगजमा फेरि राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसकिने भएकाले यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागि संविधानमा नै राखिन आवश्यक छ,’– उनले सुझावमा भनेका छन् ।

संविधानको धारा २८९ (१) ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

साथै, उनले इन्तु, किन्तु, परन्तु केही नभनी संविधान संशोधनमार्फत प्रदेश संरचना खारेज गर्नुपर्ने सुझाव दिएका छन् । त्यस्तै, जिल्ला समन्वय समिति र उपराष्ट्रपतिको व्यवस्था पनि खारेज हुनुपर्ने उनको सुझाव छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्