Logo

‘कांग्रेसले निजीक्षेत्रको लिड गर्ने अवसर गुमाउने त होइन भन्ने मलाई चिन्ता छ’



काठमाडौं, २८ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । केन्द्रीय समिति बैठकमा विभिन्न ११ वटा विषयमा केन्द्रीत भएर छलफल भइरहेको छ । आजको बैठकमा विनोद चौधरीले आफ्ना धारणा राखेका छन् । उनले यतिबेला निजी क्षेत्र अत्यन्तै निराश र त्रसित रहेको बताएका छन् । उनले आफूलाई कांग्रेसले नीजी क्षेत्रको लिड गर्ने अवसर गुमाउँछ कि भन्ने चिन्ता रहेको पनि बताए ।

‘८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा बोकेको निजीक्षेत्र यतिबेला अत्यन्तै निराश छ, त्रसित छ । कुन पार्टीले निजीक्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्दै छ भन्ने कुरामा अन्योल छ । निजीक्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ,’– उनले भने ।

उनले नयाँ सरकार बनेसँगै अब राजनीतिक स्थायित्व हुन्छ कि भन्ने आशाहरू पलाएको उल्लेख गरे । कांग्रेस–एमालेको गठबन्धन सरकारलाई जनताले लामो अस्थिरताको चक्रब्यूहबाट देश बाहिर आएको भन्ने दृष्टिकोणबाट लिएको उनको दाबी छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार सरकार अगाडि बढ्यो र अन्तरविरोध हटाउन सकियो भने मुलुककै लागि खुसीको समय हुने उनको धारणा छ । त्यसका लागि अर्थतन्त्रलाई राजनीतिको केन्द्रविन्दु बनाउनुपर्ने उनको सुझाव छ ।

करिब १ करोडको हाराहारीमा नेपालीहरू देश बाहिर रहेका र अधिकांश खुसीले नभई बाध्यताले विदेशिएको उल्लेख गर्दै उनले यसले थुप्रै सामाजिक समस्या र द्वन्द्व सिर्जना गरेको बताए । त्यस्तै, अहिले वार्षिक डेढ लाखभन्दा बढी विद्यार्थी देशबाहिर अध्ययनका लागि जानेगरेको र त्यसबाट डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिरहेको उनले बताए । विदेश अध्ययनका लागि जाने युवाहरु जाने बेलामा नै नेपाल नफर्किने मानसिकता बनाएर देश छोड्ने गरेको उनले बताए । Photo design By: Dinesh Chaudhary/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्