Logo

सहकारी प्रकरण: पूर्वराजा ज्ञानेन्द्रका ज्वाईंसँग छानबिन समितिले लियो बयान



काठमाडौं,२८ साउन । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ गरेको छ ।

सोमबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी ज्वाईंसमेत रहेका सिंहसँग बयान लिएको हो ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरुसँगको बयानको क्रममा समितिले आज सुमेरु बचत तथा ऋण सहकारीका सेयर सदस्य सिंहलाई बयानको निम्ति बोलाएको थियो । उनी हालैमात्र उक्त संस्थामा लगानीकर्ताको रुपमा भित्रिएका हुन् ।

सोधपुछका क्रममा शाहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन् ।

समिति सदस्यहरुले हिजो सोही संस्थाका पूर्वअध्यक्ष हेमराज दाहाल, अध्यक्ष कृष्णप्रसाद कँडेल र सञ्चालक विदेन्द्र महर्जनसँग विभिन्न जिज्ञासा राखेका थिए । बयानका लागि पुगेका दाहाल, कँडेल, महर्जनलगायतले संस्थापक अध्यक्ष भरत महर्जन रकम हिनामिना गरेर बेलायत फरार भएकाले केही समस्या देखिएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्