Logo

नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने गरम वहस चलिरहँदा प्रचण्ड भने मौन



काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको निश्कर्ष निकालेको छ । आज (सोमबार) बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिले प्रचण्डको नेतृत्वबाहेक विकल्प नरहेको बैठकको निश्कर्ष सुनाएका हुन् । उनले तथ्यबाट सत्य खोजौं, उद्देश्यमा केन्द्रीत हौं र भविष्यतिर अगाडि बढौं भन्ने भाव स्थायी कमिटी बैठकमा व्यक्त भएको बताए ।

‘नेतृत्वको सवालमा चाहीँ वैचारिक, राजनीतिक, सांगठानिक, विधिगत छलफलतिर जानुपर्छ भन्ने छ । सबैको के छ भने– सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति चाहीँ अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने कुरा सबैले राख्नुभएको छ,’– उनले भने ।

प्रवक्ता सापकोटाले अब स्थायी समितिको बैठक हुँदै केन्द्रीय समितिसम्म छलफललाई अगाडि बढाइने बताए उनले व्यापक र बृहङ्गम छलफल गरेर एजेण्डाहरुको निश्कर्षमा पुगिने बताए । नेता सापकोटाले गत केन्द्रीय कार्यालयको बैठकमा छलफलका लागि समयको सीमा नै नराखिएको र एक जनाले १५ मिनेटदेखि दुई घण्टासम्म बोलेको बताए । उनले स्थायी कमिटी बैठकमा भने २० मिनेटको समय निर्धारण गरिएको उनले सुनाए । उनले बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय समस्या र निकासका बारेमा छलफल भइरहेको बताए ।

‘हामी केन्द्रीय समितिको बैठकमा पुग्दाखेरी अहिले जे–जे समस्या देशभित्र देखिएको छ, राष्ट्रिय जगतमा पनि देखिएको छ । विश्व दृष्टिकोणतिर पनि ध्यान दिँदैछौं । मुख्य त नेपालको समस्यामा हामी केन्द्रीत भएका छौं ।’ उनले भने, ‘यो देशको अग्रगमनको, परिवर्तनको र अहिले देखिएको समस्याको समाधान गर्ने कुराको नेतृत्व सदनबाट पनि र सडकबाट पनि, अहिले त हामी सरकारमा छैनौं । २५ गतेदेखि अहिलेसम्म बोल्ने सबैले के भन्नुभएको छ भने ३२ जनालाई गुणात्मक ढंगले प्रभावकारी बनाउने र सदनलाई सडकमा जोड्ने ।’

अहिले विचार, सिद्धान्त, विधि र संगठनमा पार्टीभित्र खुल्ला वहस भइरहेको बताउँदै जनतामा स्पष्ट नीति, कार्यनीति र योजनासहित जाने बताए । अहिलेको वहस निकै स्तरीय रहेको उनले बताए ।

पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने भनी गरेको प्रस्तावमा भने प्रचण्ड अहिलेसम्म मौन नै रहेको बताए । उनले अहिले आफूहरु समाजवादी विचार धाराको विकासतर्फ अगाडि बढिरहेको बताउँदै प्रचण्डलले सबैको कुरा सुनिसकेर आफ्नो धारणा राख्ने बताए । ‘अहिले समाजवादी विचारधाराको विकासमा हामी लागेका छौं । त्यो समाजवादी विचारधाराको विकास भनेको धेरै ठूलो कुरा हो । समाजवादी मूल्य, मान्यता, आदर्श, आचरण, संस्कृति सबैमा अहिले उहाँले विधि निश्चित गरेर खुल्ला, सिधा, स्पष्ट छलफलको वातावरण बनाउनुभयो । सबैको कुरा सुनिसकेपछि उहाँलाई पनि अन्तिम निश्कर्षको विचार आउँछ,’– उनले भने ।

यो पनि पढ्नुहोस्ः आफ्नैहरुको घेराबन्दीमा प्रचण्ड, जुट्नेभन्दा फुट्ने खतरा बढ्यो



प्रतिक्रिया दिनुहोस्