काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री कतिपटक बन्न पाउने भन्ने कुरा छलफलको विषय नै हुन नसक्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताले चुनेसम्म जतिपटक पनि प्रधानमन्त्री बन्न पाइने बताए । उनले यस्ता विषय पार्टीको विधानमा राख्न आवश्यक नरहेको बताए ।
‘नेपाली जनताले चुनेसम्म प्रधानमन्त्री यतिपटक बन्न पाइने भन्नु परिपक्व कुरा होईन । फरी यो पार्टीको विधानको कुरा हो । यो विषय महासमितिको बैठकमा प्रवेश गर्ने विषय नै थिएन । विधानको कुरामा महासमितिमा हामीले छलफल नै गरेको छैन ।’ उनले भने, ‘महासमितिले कन्द्रीय समितिमा छलफल गरेर टुङ्गियोस् भनेकाले अहिले केन्द्रीय समितिमा छलफल भइरहेको छ । मलाइ लाग्छ, छलफलका विषयका कुराहरुभन्दा परको कुराहरु जुन चाहीँ प्रवेश गरेको छ, ती कुराहरु त्यहाँ रहँदैनन् । विधानमा उल्लेख हुन आवश्यक पनि छैन । यो छलफलको विषय नै होईन् ।’
कांग्रेस महासमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्रीदुई पटक, मन्त्री तीन पटक र सांसद् चार पटकभन्दा बढी बन्न नपाइने व्यवस्था विधानमा गरिनुपर्ने प्रस्ताव ल्याएका थिए । उनको सो प्रस्ताव महासमितिले सर्वसम्मत पारित गरेर थप छलफलका लागि केन्द्रीय समितिमा पठाइएको थियो । सो महासमिति बैठकबाट पारित भएका प्रतावहरुसहित विभिन्न ११ बुँदामा छलफलका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय समिति बैठक हिजो (सोमबार) देखि १० दिनका लागि स्थगित गरिएको छ ।
नेता महतले कुन पदमा को कतिपटक जान पाउने भन्ने कुरा संविधानमा व्यवस्था गर्न आवश्यक नरहेको बताउँदै कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार केपी शर्मा ओलीपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताए । File Photo/Reporters Nepal