Logo

बंगलादेश घटनाबारे राजेन्द्र पाण्डेको चासो, खोजे सरकारको जवाफ



काठमाडौं । सत्तामा उथलपुथल आउनेगरी गत साता बंगलादेशमा भएको घटनाबारे नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सरकारको जवाफ माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा पूर्व मन्त्रीसमेत रहेका पाण्डेले बंगलादेश सार्कको सदस्य राष्ट्रसमेत भएको हुँदा यसबारेमा सरकारले कूटनीतिक माध्यमको प्रयोग गरेर त्यहाँको वस्तुस्थितिबारे सत्यतथ्य जानकारी लिनुपर्ने र सदनलाई जानकारी गराउनुपर्ने बताए ।

उनले आन्दोलनका नाममा हिन्दु र बौद्ध धर्मालम्बीहरूमाथि ज्यादती भएको बताए । “यतिबेला बंगलादेशमा आन्दोलनका नाममा हिन्दु, बौद्ध धर्मावलम्बीहरूमाथि ज्यादती भइरहेको छ,” उनले भने, “घरघरमा आगो लगाइएको छ । मान्छेलाई भित्रै राखेर जिउँदै जलाउने काम भएको छ । मानवअधिकारको चरम हनन् भएको छ ।”

उनले पृथ्वीराजमार्ग नजिकै रहेको त्रिशूली नदीमा पुल नै भत्कनेगरी बालुवा, गिटी उत्खनन गरेर चोरी निकासी भइरहेको पनि बताए । नदीजन्य सामाग्रीको चोरी निकासीमा संलग्न गिरोहलाई कुनैपनि सरकारले कारबाही गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए । 



प्रतिक्रिया दिनुहोस्