Logo

प्रधानमन्त्री ओलीको प्रश्नः हामी लोकतन्त्रका लागि लडेर आएका हौं, त्यस विपरीतको संविधान संशोधन कसरी हुनसक्छ ?



काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मूल मर्मविपरीत संशोधन हुन नसक्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनीय दस्तावेज रहेको र त्यसलाई समायानुकूल बनाउनुपर्ने बताए । दलहरुलाई जे चाहिएको छ, त्यही गर्ने नभएर देश र जनतालाई चाहिएको, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी संविधान संशोधन गरिने उनको भनाइ छ । उनले प्रतिगमन हुने भयो भन्ने चिन्ता पनि सुनिएको बताउँदै आफू प्रतिगमनको लागि तयार नरहेको बताए ।

‘संविधान संशोधनीय दस्तावेज हो । संविधान समयानुकूल बनाउने सन्दर्भमा जुन कामले बढी उपयोगी बनाउन सकिन्छ, धारा उपधाराहरु केही फेरबदल गर्न नसकिने होईन । संविधान संशोधन गर्नुको अर्थ हामीलाई जे चाहिएको छ, त्यही गर्ने होईन । जनता र देशलाई चाहिएको संशोधन गर्ने हो । जनताको जीवनमा कसरी अझ बढी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ? त्यसका लागि हो । त्यस विपरीतको संविधान संशोधन कसरी हुनसक्छ ? हामी तयार छौं र त्यसका लागि ? म त तयार छैन,’– उनले भने ।

आफूहरुले जनप्रतिनिधि भएर शपथ गरेको स्मरण गराउँदै उनले हस्ताक्षर र लिखतको बन्धनलाई सानो सम्झिन नहुने बताए उनले ‘लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ?’ भन्दै प्रश्नसमेत गरे । तानाशाहीमाथि विश्वास नभएर नै आफुहरुले राणा शासनको विरुद्धमा लडेको उनले बताए ।

संविधानको आधारभूत मूल्य मान्यता र संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी कुनै पनि संशोधन नहुने उनले विश्वास व्यक्त गरे । विकासमा बाधा भएको र जनतालाई सेवा सुविधा दिनका लागि बाधा भएको ठाउँमा सहमतिका साथ छलफल गरेर संविधान संशोधन गरिने उनले बताए । संविधानलाई स्वीकार्यता र अस्वीकार्यताको रेखामा विभाजन गर्ने आफ्नो मनसाय नरहेको उनले सुनाए ।

संविधान संशोधनका क्रममा नेपालको आफ्नै अनुभव, अन्य देशका अभ्यासलगायतका पक्षलाई पनि ध्यान दिइने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सबै मिलेर संविधान बनाएको स्मरण गराउँदै मिलेर र नै संशोधन गरिने बताए ।

साथै, समाजमा अहिले सामाजिक मूल्य मान्यताकै बर्खिलाप हुने गतिविधि चलिरहेको भन्दै उनले त्यसलाई रोक्न आवश्यक रहेको बताए । उनले प्रतिनिधि सभाका सदस्यहरुलाई समाजको गाइड गर्नुपर्ने सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्