Logo

प्रदेश खारेज गर्ने हो भने संविधान संशोधन गर्नुस्, होईन भने कार्यान्वयन गर्नुस्ः पूर्व मुख्यमन्त्री कार्की (भिडिओसहित)



काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश संरचना खारेज गर्ने हो भने संविधान संशोधन गर्न सुझाव दिएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान संशोधन गरेर प्रदेश संरचना खारेज नगर्ने हो भने इमानदारितापूर्वक संविधान कार्यान्वयनका लागि उनले माग गरेका छन् । ‘प्रदेश खारेज गर्ने हो भने संविधान संशोधन गर्नुस्, होईन भने संविधान कार्यान्वयन गर्नुस्,’– उनले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता खारेज गर्ने कुरै हुँदैन’ भन्ने अभिव्यक्ति संसद्मा दिएको भन्दै उनले त्यसको लागि इमानदारितापूर्वक संविधान कार्यान्वयन गर्नुपर्ने बताए । संघीय सरकारले प्रदेशलाई अधिकार दिने भन्ने कुरा नै गलत रहेको उनले बताए । नेता कार्कीले आफू मुख्यमन्त्री भएको बेला संविधान कार्यान्वयन गर भनेर थर्काएको उनले बताए । केन्द्र र प्रदेशको प्रवृत्ति मालिक र नोकरको जस्तो हुन नहुने उनको भनाइ छ ।

‘उहाँहरुले अधिकार दिन पर्दैन । उहाँहरु मालिक हो र अधिकार दिने ? त्यो मालिक र नोकरले भन्ने हो । हामीले थर्काएको हो । संविधान कार्यान्वयन गर्छौं कि गर्दैनौं भनेर । म अधिकारको कुरा गर्दिँन, संविधान कार्यान्वयनको कुरा गर्छु,’– उनले भने ।

साथै, वर्तमान सरकार सुशासन र जनतालाई डेलिभरी दिने कुरामा सुरुदेखि नै चुकेको उनको टिप्पणी छ । वर्तमान सरकारको सन्दर्भमा शंका, उपशंकाहरु सुरु भइसकेको उनको भनाइ छ ।

नेता कार्कीले आफ्नो नेता शेखर कोइराला नै रहेको प्रष्ट पारे । उनले गत महाधिवेशनमा पनि शेखरलाई सभापति बनाउन लागि परेको बताउँदै आगामी महाधिवेशनमा पनि सोही अभियानमा रहने उनले बताए । नेता कार्कीले आगामी १५औं महाधिवेशनमा शेखरलाई सभापति बन्न कसैले रोक्न नसक्ने दाबीसमेत गरे । ‘शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्छ, म उहाँको विपक्षमा होईन । तर, शेखर कोइरालाको चाहीँ समर्थक हुँ । शेखर कोइराला पार्टी सभापति बन्नुपर्छ भन्ने अभियानको एउटा अभियानकर्मी पनि हो । त्यसमा नो डाउट । तर, शेरबहादुर देउवा मेरो पार्टी सभापति हो, नेता चाहीँ शेखर कोइराला हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्