Logo

जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई अभियानमा खटायो



काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई अभियानमा खटाएको छ । ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चारदिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेताहरुलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको हो ।

पार्टीका २ सय १५ केन्द्रीय सदस्यलाई देशभरीका विभिन्न पालिकामा अभियन्ताको रुपमा खटाएइएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले बताए । सबै स्थानीय तहअन्तर्गतका टोल, बुध, वडा, गाउँ नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रस्तरसम्म सङ्गठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको नेता बस्नेतको भनाइ छ ।

अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने र पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको अनुगमनका लागि खटाइने बताइएको छ ।

तोकिएका अभियन्ताहरुलाई प्रदेशस्तरिय अभिमुखीकरणको आयोजना गरिने भएको छ । जसअनुसार विराटनगरमा भाद्र १८ गते, जनकपुरमा भाद्र १५ गते, वीरगञ्जमा भाद्र १७ गते, काठमाण्डौमा भाद्र ९ गते, भैरहवामा भाद्र २३ गते, नेपालगञ्जमा भाद्र २४ गते, पोखरामा भाद्र २५ गते र टिकापुर धनगढीमा भाद्र २५ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने छ ।

अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्यहरु, अभियन्ताहरु, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्यहरु, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधिहरु तथा जनसंगठनका पदाधिकरीहरु सहभागी हुनेछन् । अभियान आगामी भाद्र महिनादेखि सुरु भई मंसिर मसान्तसम्म सञ्चालन हुने छ ।



प्रतिक्रिया दिनुहोस्