Logo

स्वयम्भू बुद्धपार्कमा क्यामेरा आतंक, फोटो खिचेर ब्ल्याकमेलिङ धन्दा



काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा धार्मिकस्थलमध्येकै परिचित एक नाम हो– स्वयम्भूको बुद्धपार्क स्तुपा । शान्तिको प्रतिक बुद्धको दर्शनका लागि स्वयम्भू बुद्ध मन्दिर सबैको रोजाईमा पर्ने गरेको छ । विहान झिसमिसेदेखि बेलुकीको अन्धकार नहुन्जेलसम्म मानिसहरुको बाक्लो आवतजावत हुने स्वयम्भू धार्मिक स्थलमा एकाथरि मानिसको भने ठगीधन्दाको केन्द्र बनेको छ । हेर्दा १७, १८ बर्ष उमेर समूहका देखिने चुल्ठेमुल्ठे भेषमा ठूलो संख्यामा समूह बनाएर सर्वसाधरणलाई खुलमखुल्ला ठगी गरिरहेको प्रत्यक्ष देख्न सकिन्छ । तर, नागरिक सुरक्षामा खटिएको प्रहरी बृत्त स्वयम्भु भने मुकदर्शक छ ।

क्यामेरा बोकेर सयौंको संख्यामा अल्लारे केटाहरु बस्ने र उनीहरुले फिल्मी शैलीमा ठगी गर्ने गरेको स्थानीयको गुनासो छ । उनीहरु ४÷५ जनाको समूह बनाएर १०/१५ मिटरको दूरीमा बस्ने बस्ने गरेको र पहिलो स्टेपमा आवतजावत गरिरहेको नागरिकलाई रोकेर नरम स्वरमा फोटो खिच्नका लागि अनुरोध गर्ने गरेको ती स्थानीयले बताए । ‘एक्सक्युज मी दाई, दिदी, अंकल.. हजुरको फोटो खिचिदिनुपर्छ ? भनेर कुरा सुरु गर्छन् । अनिसँगै छेउमा उभिएकाले आएर खिच्नुस, खिच्नुस, एकदम राम्रो आउछ । यहाँ सिन पनि राम्रो छ भन्छ । ४/५ जनाले घेरिहाल्छ,’– ती स्थानीयले सुनाए ।

‘होईन, फोटो नखिच्ने’ जस्ता जवाफ दिएर हिड्न खोज्दा भने चारैतर्फ उभिएकाहरुले पटाफट फोटो खिच्न सुरु गर्ने उनले सुनाए । ‘होईन, फोटो खिच्दिँन भनेर हिड्न खोज्यो भने अर्कोले रोक्छ । २/३ तिरबाट फटाफट फोटो खिच्न थाल्छ । ए भाई मेरो फोटो नखिच, खिचेको डिलिट गर भन्यो भने निहुँ खोज्न थाल्छन् । फोटो खिचेपछि पैसा दिनुपर्यो नि भनेर भन्छन् । डिलिट गर्ने भए पैसा चाहिन्छ भन्छन्,’– उनले भने ।

प्रहरीमा उजुरी गर्छु भन्यो भनेपनि उनीहरुले हाँसोमा उडाउने गरेको र निर्धक्कसम्ग प्रहरीलाई हप्ता बुझाउने गरेका छौं भनेर केही फरक पर्दैन भन्ने जवाफ दिने गरेको उनको भनाइ छ । फोटो खिचेर ब्ल्याकमेलिङ गरी ठगी भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्