काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकताबारे छलफल भएको छ । गत शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठक आज सकिएको छ । बैठकले कम्युनिष्ट पार्टीको पुनर्गठन अनिवार्यता रहेको निश्कर्ष निकालेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनबारे घनीभूत छलफल र वहस भएको बताए । ‘कम्युनिष्ट पार्टीको अनिवार्य आवश्यकता छ यो देशमा । किनभने नेपाली जनताहरुले कम्युनिष्ट पार्टीलाई मन पराउँछन् । मन पराउँछन् भन्ने कुराको प्रमाण के हो भने २०७४ सालमा जब हामीले गठबन्धन गरेर गयौं, दुई तिहाइ दिए जनताले । फेरि पनि कम्युनिष्ट पार्टीको पुनर्गठन होस् भन्ने नेपाली जनताको चाहना छ ।’ उनले भने, ‘त्यस दिशातर्फ छलफल, वहस भइरहेको छ र हामी त्यसमा पहल र प्रयत्न गरिरहन्छौं । सबै पक्षसँग हामी संवादमा छौं । माधव नेपालसँग पनि कुरा भएको छ । तपाईँहरुले सुनेको कुरा साँचो हो, कुरा घनिभूत रुपमा अगाडि बढेको छ ।’
उसो त पार्टी स्थायी कमिटी बैठक चालिरहेकै बेला प्रचण्ड–नेपालको गोप्य भेटवार्ताको खबर बाहिरिएको थियो । अध्यक्षद्वय प्रचण्ड र नेपाल पार्टी एकताको लागि निरन्तर छलफलमा रहेको बताइएको छ । आगामी २०८४ को आम निर्वाचनमा कांग्रेस–एमाले दुवै दलले कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेर सरकार बनाएसँग नेपाल–दाहाल आत्तिएका छन् । ०८४ निर्वाचनमा आफ्नो शाख जोगाउनको लागि पनि पार्टी एकता गर्नुपर्ने पक्षमा अध्यक्ष नेपाल छन् । त्यस्तै, प्रचण्ड पनि एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, महिन्द्र राय नेतृत्वको नेसपालगायतका दलहरुसँग एकता चाहन्छन् ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले पनि दुनियाँलाई आश्चर्य चकित पार्दै एकतावद्ध हु्ने बताए । File Photo/RN