Logo

कांग्रेस, एमाले र माओवादी तीनै दलले दलित समुदायलाई उपेक्षा गर्योः जीवन परियार (भिडिओसहित)



काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले दलित समुदायको प्रतिनिधित्व हुनेगरी सरकारमा मन्त्री नपठाएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारमा दलित समुदायको प्रतिनिधित्व नगराएर पार्टीले गलत गरेको बताएको बताएका हुन् । उनले यस्ता प्रकारका कमजोरीहरु पटक–पटक भइरहेको बताउँदै उनले यसले पार्टीलाई हानी पुर्याउने बताए ।

‘नेपाली कांग्रेसको विभिन्न बैठकहरुमा हामीले सशक्त आवाज उठाएकै छौं । पार्टीले गर्ने निर्णयमा विगतदेखि केही कमीकमजोरीहरु हुँदैआएको छ । यस्ता कमीकमजोरीहरुलाई पटक–पटक दोहोर्याउनु भनेको स्वयं पार्टीलाई नै यसले असर पार्नसक्छ । त्यसबारेमा पार्टीका नेताहरु सचेत हुनुपर्छ । गल्ती दोहोर्याउनु हुँदैन भन्ने मेरो विशेष आग्रह हो,’– उनले भने ।

कांग्रेसले आफूलाई मन्त्री बनाउने निर्णय गरेर पनि अन्तिम समयमा नबनाएको उनले बताए । नेता परियारले आफूलाई मन्त्री नबनेकोमा भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएकोमा चिन्ता रहेको बताए । उनले यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि दलित समुदायले प्रतिनिधित्व नपाएको बताए । कांग्रेस, एमाले र माओवादी तीनै दलले दलित समुदायलाई उपेक्षा गरेको उनको भनाइ छ ।

‘मैले मन्त्री बन्ने इच्छा गर्ने कुरा आफैंमा अस्वभाविक कुरा होईन । पार्टीले निर्णय गर्ने बेला सबै वर्ग, समूदायको प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहना हो । पार्टी त्यो निर्णयमा पुगेन । हिजो प्रचण्डको नेतृत्वको सरकारले पनि गरेन । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले पनि गरेन । स्वयं मेरो पार्टीले पनि निर्णय गर्न सकेत । जीवन परियार नै मन्त्री बन्नुपर्छ भन्ने छैन । नेकपा (एमाले) का नेता छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने हल्ला थियो । तर, उहाँ पनि बन्नुभएन । यो समुदायको कुरा हो,’– उनले भने ।

साथै, उनले दलित समुदाय अहिले पनि कुरीति, कुसंस्कार र छुवाछुतको पीडा भोगेर बाँचिरहेको उनले बताए । दलितका लागि दलित अभियानका अभियन्त खग्रेन्द्र सुनारले उठाएको सबै कुराहरुप्रति आफूहरु जानकार रहेको उनले बताए । सुनारको आन्दोलनमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग रहिआएको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्