Logo

डाँडाकटेरीमा २१औं दोरम्बा हत्याकाण्ड स्मृति सभा सम्पन्न



काठमाडौं, ३२ साउन । नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ्ग गाउँपालिका कमिटीको आयोजनामा २१औं दोरम्बा हत्याकाण्ड स्मृति सभा सम्पन्न भएको छ । दोरम्बाको डाँडाकटेरीमा आयोजित सभामा माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय श्यामकुमार श्रेष्ठ ‘कुशल’, युवराज चौलागाईलगायत माओवादी बागमती प्रदेश कमिटी, रामेछाप जिल्ला कमिटीका पदाधिकारी तथा नेता÷कार्यकर्ताहरुले सहिद स्मारकमा रहेको शालिकमा माल्याणपण गरेर श्रद्धाञ्जली सभा गरिएको थियो ।

२२ बर्ष अगाडि युद्धविराम चलिरहेको थियो । स्थानीय शिक्षक युवराज मोक्तानको घरमा माओवादी कार्यकर्ताहरु पार्टीको आन्तरिक बैठक बसिरहेको अवस्थामा मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा गएको लगभग ८० जना सेनाको समूहले घर घेरा हाली घरधनी युवराज सहित २१ जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर सामूहिक हत्या गरेका थिए । सोही घटनाको स्मरणमा दोरम्बा हत्याकाण्ड दिवस मनाउने गरिन्छ ।

तत्काली शाही सेनाले नियन्त्रणमा लिएका माओवादीका नेता तथा कार्यकर्ताहरुलाई गोली हानी हत्या गरेर भीरबाट लडाइदिएका थिए । सो घटनाबाट तत्कालीन जिल्ला इञ्चार्ज हरि दाहालसहित ११ जना सेनाको घेरा तोडी भाग्न सफल भएका थिए ।तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) र सरकार पक्षबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको अवस्थामा सेनाले दोरम्बामा आन्तरिक बैठक बसिरहेका माओवादी नेता तथा कार्यकर्ताहरुको हत्या गरेको थियो । दोरम्बा हत्याकाण्डमा तत्कालीन शाही सेनाले माओवादी रामेछाप जिल्ला जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’, प्रदीप दोङ ‘रक्तिम’, अम्बिका दाहाल ‘ललिका’, सङ्गीता, हर्कबहादुर तामाङ यथार्थ, रवि चौहान ‘समीर’, उमा कार्की ‘सहारा’, श्याम तामाङ ‘इन्क्लाब’, पदमराज गिरी ‘असल’, विष्णुमाया थापामगर ‘बिमा’, ठूलोराम तामाङ ‘छोक्पा’, सानोराम तामाङ ‘तारा’, लक्ष्मण तामाङ ‘छाया’, जमिन, सोम, विमला, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर ‘विवेक’, चतुरमान थामी ‘समर’, उषासहित २१ जना तत्कालिन माओवादी नेता, कार्यकर्ताको हत्या गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्