Logo

माओवादी आन्दोलनको औचित्य ०७२ सालमै सकियो, प्रचण्ड पनि एक दिन हामी हिँडेको बाटोमा आउनुहुन्छः बाबुराम भट्टराई (भिडिओसहित)



काठमाडौं, १ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनको काम सकिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी आन्दोलनको औचित्य २०७२ सालमै सकिएको बताएका हुन् । अब माओवादी आन्दोलन भनिराख्नुको औचित्य नरहेको उनको दाबी छ ।

‘माओवादी आन्दोलन समयको आवश्यक्ता थियो । त्यसैले हामी सबै मिलेर त्यसको नेतृत्व गर्यौं र त्यसले ठूलो क्रातिकारी परिवर्तनको नेतृत्व गर्यो । २०७२ सालमा संविधान सभाबाट संविधान जारी गर्ने बेलासम्म त्यसले सकारात्मक भूमिका निर्वाह गर्यो । त्यसपछि त्यसको काम सकियो भन्ने मेरो बुझाइ हो,’– उनले भने ।

वर्तमान संविधानलाई उनले आधा गिलास भरिएको पानीको संज्ञा दिँदै आफूहरुले त्यसलाई भरी गिलास बनाउने अगाडि बढेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु त्यही आधा गिलासको वरिपरी घुमिरहेको उनको टिप्पणी छ । आफूहरु आगडि बढिसकेको बताउँदै उनले अब माओवादी आफूले सुरु गरेको शक्तिमा आएमा नयाँ यात्रा सुरु हुनसक्ने बताए । उनले प्रचण्डसहितको माओवादी कुनै दिन आफूहरु हिँडेको बाटोमा आउने उनले विश्वास व्यक्त गरे ।

‘हामी अगाडि बढेका छौं, उहाँहरु विस्तारै बुझ्दै हुनुहुन्छ । मेरो विश्वास के छ भने विस्तारै ती साथीहरुले बुझ्नुहुन्छ । आफूलाई समयानुकूल रुपान्तरण गरेर हामीले प्रगतिशील लोकतान्त्रिक अथवा समुन्नत समाजवादको बाटो अगाडि सारेका छौं । त्यसमा उहाँहरु आउनुहुन्छ र आउनुपर्छ भन्ने लाग्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्