Logo

कुलमानको गुनासोः ‘जिम्मेवार व्यक्तिहरुबाट नै सार्वजनिक रुपमा प्राधिकरणको नाफा कागजी हो भनियो’



कामाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जिम्मेवार व्यक्तिहरुबाट नै सर्वाजनिक रुपमा प्राधिकरणको नाफा कागजी हो भनी गलत प्रचार गरिएको बताएका छन् । आज (शनिबार) प्राधिकरणको ३९औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले महालेखा परीक्षकजस्तो संवैधानिक निकायले वार्षिक रुपमा लेखापरीक्षण गरेर प्रकाशन गरेको वित्तीय विवरणमा आशंका गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

उर्जामन्त्री दीपक खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा प्राधिकरणको नाफा कागजी रहेको भनी अभिव्यक्ति दिएका थिए । मन्त्री खड्काको अभिव्यक्तिलक्षित गर्दै उनले भने, ‘जिम्मेवार व्यक्तिहरुबाट सार्वजनिक रुपमै प्राधिकरणको नाफा कागजी हो भनिएता पनि यसमा कुनै सत्यता छैन । महालेखा परीक्षकजस्तो संवैधानिक निकायबाट हरेक वर्ष वैधानिक लेखापरीक्षण भइ प्रमाणित वित्तीय विवरणहरु प्रकाशन भएका छन् ।’

उनले अधिकांश वर्ष सञ्चित घाटामा रहेको प्राधिकरणले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड नाफा कमाएको उनले बताए । अहिले प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको उनले बताए । कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्थामा पुगेको प्राधिरकण आफ्नो कार्यकालमा सार्वजनिक संस्थाहरुमध्ये सर्वाधिक आम्दानी, नाफा र सम्पत्ति आर्जन गर्ने संस्थाको रुपमा विकास भएको उनको दाबी छ ।

प्राधिकरणले कमाएको नाफा र अन्य स्रोतबाट प्राप्त आम्दानीबाट विद्युत उत्पादन, प्रशारण र वितरणतर्फको आयोजनाहरुमा विगत ८ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी पुँजीगत लगानी गर्न सक्षम भएको उनले बताए । ८ वर्षमा प्राधिकारणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैँयाभन्दा बढी लगानी गरेको पनि उनले बताए । विगतमा २६ प्रतिशत रहेको विद्युत चुहावटलाई १२.७३ प्रतिशतमा झारेर वार्षिक रुपमा १२ अर्बभन्दा बढी आम्दानी गरेको पनि उनले बताए । विगत ८ वर्षमा तीन पटक विद्युत मूल्य समायोजन गरी २५ प्रतिशत शुल्क घटाइए पनि प्राधिकरण नाफामा नै रहेको उनले सुनाए ।

प्राकृतिक र प्राविधिक कारणले कहिलेकाहीँ केही समयका लागि बत्ति जाने आउने गरेको भएपनि अब लोडसेडिङ इतिहास भइसकेको उनको भनाइ छ । उनले प्राधिकरणले भारतमा विद्युत निर्यात गरी निर्यातकर्ताको गौरवमय इतिहास बनाएको पनि बताए । ‘प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ति जाने आउने गरेतापनि हामी गर्वका साथ भन्न सक्छौं लोडसेडिङ अब इतिहास भइसकेको छ । त्यतिमात्र होईन, वर्षा याममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्या विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सक्ने अवस्थामा हामी पुगिसकेका छौं । हिउँद याममा अझै केही महिना विद्युत आयत गर्नुपरे पनि आयतको परिमाण क्रमशः घट्दै जानेछ । गत आर्थिक वर्षभित्र देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय बजारमा विक्री गरी निर्यातकर्ता बनेर नेपालले गौरवमय इतिहास बनाइसकेको छ,’– उनले भने ।

उनले ८ वर्षअघि करिक ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले ९९ प्रतिशतभन्दा बढीमा पुगेको बताए । उनले यसलाई सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता रुपमा लिइएको बताए । आफूहरु अब छिट्टै मुलुक शतप्रतिशत विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको पनि उनले बताए । उनले सुकुम्बासी, चेपाङ, मुशहरलगायतका विपन्न वर्गहरुलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको बताए ।

त्यस्तै, धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा हिजोमात्रै बत्ति बालिएको जानकारी गराउँदै कार्यकारी निर्देशक घिसिङले धेरै धार्मिक स्थल, मठ मन्दिर, गुम्बा, मस्दिजमा बत्ति बाल्ने कार्य सम्पन्न हुँदै गएको बताए ।



प्रतिक्रिया दिनुहोस्