Logo

कपाली तमासुकको आधारमा बनेको कांग्रेस-एमाले सरकारबाट जनता आतङ्कित छन्ः माओवादी नेता सुवेदी



काठमाडौं, २ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले कपाली तमासुकको आधारमा बनेको कांग्रेस–एमाले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारबाट जनताहरु आतङ्कित रहेको बताएका हुन् । वर्तमान सरकारबाट जनताले भरोसा गर्ने ठाउँ नै नरहेको उनको भनाइ छ ।

‘यिनीहरुले के–के गर्न लागे भनेर जनताहरु आतङ्कित भइराखेका छन् । प्रचण्ड नेतृत्वको सरकार ठीक तरिकाले अगाडि बढिरहँदा, सुशासनलाई केन्द्रविन्दु बनाएर अगाडि बढिरहँदा रातारात ओलीजी र देउवाजीले कपाली तमासुक गरे । कपाली तमासुक गरेपछि सरकार परिवर्तन भयो ।’ उनले भने, ‘प्रचण्डले अगाडि बढाइरहेको सुशासनको कामलाई यिनीहरुले भंग गरे । अब सुशासनको काम अगाडि बढ्दैन । पहिलेकै अवस्थामा पुग्नेभयो भनेर नेपाली जनता आँत्तिरहेका छन् । कहाँ भरोसा जाग्ने ?’

तत्कालीन नेकपा भएको बेला झण्डै दुई तिहाइको सरकार हुँदासमेत ओलीले केही गर्न नसकेको बताउँदै नेता सुवेदीले कपाली तमासुकको भरमा बनेको सरकारले जनताको पक्षमा काम गर्न सक्छ भन्नेमा विश्वास नरहेको बताए । उनले कांग्रेस–एमाले नेतृत्वको सरकारले संविधान संशोधन गरेर २०४७ सालतिर फर्काउन चाहेको पनि बताए । जनताले पाएका अधिकार नष्ट गर्ने योजनाको साथ वर्तमान सरकार अगाडि बढेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्