भक्तपुर । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले सुर्यविनायक नगरपालिका– ४, दधिकोटमा रहेको अनन्तलिङ्गेश्वर महादेव मन्दिर अवलोकन गरेका छन् । विकाश संरक्षण तथा प्रवर्धन अभियानअन्तर्गत जनै पूर्णिमाको उपलक्ष्यमा नेता बस्नेत मन्दिरको अवलोकनसहित रक्षाबन्धन कार्यक्रममा सहभागी भएका हुन् । उक्त अभियान हरेक हप्ता शनिबार ७ बजेदेखि ९ बजेसम्म जारी रहने गरेको छ ।
भक्तपुरमा रहेका प्रमुख धार्मिक तीर्थस्थलहरुमध्ये अनन्तलिङ्गेश्वर मन्दिर पनि एक प्रमुख तीर्थस्थल हो। लिच्छिविकालमा अनन्तलिङ्गेश्वर क्षेत्रलाई हंशगृह भनिन्थ्यो । त्यसका मुख्य देवता लोकपाल स्वामी नै ‘अनन्तलिङ्गेश्वर’ भएको कुरा इतिहासविद्हरुले बताएका छन्। यहाँ भेटिएको शिलालेख अनुसार राजा नरेन्द्रदेवले सातौं शताब्दीमा यस मन्दिरको जीर्णोद्धार गराएका थिए ।
अनन्तलिङ्गेश्वरबारे किंवदन्ती छ । यहाँको जंगलमा ऋषिमुनिहरु तपस्या गर्दथे । उनीहरु पानी खोज्दै डाँडाको काखमा पुगे । कुवा खन्दा शिवलिंङ्ग फेला पर्यो । ३० फिट गहिराइमा पुग्दासमेत लिंगको फेद भेटिएन । बरु रगत आयो। त्यहि बेलादेखि यिनलाई ‘अनन्तलिङ्गेश्वर’ भनेर पुज्न थालिएको कथन छ । ऋषिहरुले नजिकै फेरि कुवा खनेको र उक्त कुवाको पानी खाँदा रोग निको हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल