काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–माओवादीसहितको सरकार हुँदा प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको स्मरण गराए । उक्त सहमतिमा प्रचण्ड इमानदार हुन नसकेको उनको भनाइ छ ।
अहिलेको सरकार कांग्रेसले चाहेर र बेइमान भएर नबनेको उनको भनाइ छ । कांग्रेससँगको गठबन्धन छाडेर प्रचण्ड एमालेसँग मिल्न जाँदा पनि आफूहरु बलियो प्रतिपक्षमा बसेको उनले बताए । कांग्रेस–एमालेको गठबन्धनमा यसअघि बनेको सरकारबारे स्मरण गराउँदै उनले यसपटक बनेको सरकारले पनि देशमा राजनीतिक स्थायित्व र सुशासन दिने बताए । अहिलेसम्म कांग्रेस र एमालेको गठबन्धनको सरकारले जे भनेर बनेको हो सोही काम गर्दै आएको उनले बताए । File Photo/RN