काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई ७ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले बयानमा बोलाएको जानकारी गराएका छन् । आज (बुधबार) बसेको पार्टी केन्द्रीय समितिको बैठकमा उनले आफूलाई समितिले बयानमा बोलाएको र सहकारीसँग जोडिएको विषय पार्टीलाई त्यो पछिमात्रै जानकारी गराउने बताएका हुन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार लामिछानेले समितिले बोलाएको मितिमा बयान दिन जान आफू तयार रहेको बताएका थिए । उनले आफूलाई आफ्नो नाम जोडिएर आएको सहकारी ठगीबारे केही पनि थाहा नभएको र आफूसँग भन्ने कुरा अरु केही पनि नरहेको बताएका थिए ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत अपचलन गरेको आरोप छ । अब लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसँग बयान लिन बाँकी रहेको समितिका सदस्य लेखनाथ दाहाल (राजन) ले बताए । उनीहरु दुवै जनाको बयान आगामी भदौ ७ गते सकिने बताइएको छ ।