Logo

सहकारी ठगी प्रकरणः बयान सकेर छवि बाहिरिए, रवि भित्रिए



काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बयानका लागि सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको विशेष संसदीय समितिमा उपस्थित भएका छन् । गोर्खा मिडिया नेटवर्क प्रा.लि. को तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा उनलाई बयानको लागि बोलाइएको थियो । उनीसँग अहिले समितिले गोर्खा मिडिया जोडिएको विभिन्न सहकारीको सम्बन्धमा सोधपुछ गरिरहेको छ ।

राजनीतिमा लाग्नुअघि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको उनीहरुमाथि आरोप लाग्दै आएको छ ।

यो पनि पढ्नुहोस्ः सहकारी ठगी प्रकरणः गोर्खा मिडियाका सञ्चालक छविसँग समितिले लियो बयान

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।

समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग आज विहान बयान लिएको थियो । सहकारी ठगी छानविनका लागि बनेको समितिको कार्यवधि आगामी भदौ १६ गते सकिँदै छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्