Logo

त्रिविका पदाधिकारी र प्राध्यापकहरुले विद्यार्थीले भन्दा बढी राजनीति गरेः स्ववियू सभापति ओझा



काठमाडौं, ८ भदौ । त्रिभुव विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियू सभापति श्यामराज ओझाले विद्यार्थीहरुले भन्दा शिक्षक र प्राध्यापकहरुले राजनीति गरेको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राध्यापकहरु कुन पार्टी र नेताको पछि लाग्दा पदमा बसिरहन पाइन्छ भनेर लागिरेहको बताए । प्राध्यापक र पदाधिकारीहरुले विषयलाई राजनीतीकरण गरेकै कारण अहिले विश्विद्यालयमा सुरक्षा थ्रेट देखिएको उनको दाबी छ ।

आफूहरु कुनै दलको पछि भन्दा पनि विद्यार्थीहरुको जायज मागहरुको पक्षमा रहेको ओझाले बताए । विद्यार्थी नेतृत्वले जहिले पनि विश्वविद्यालय नीतिअनुसार सञ्चालन हुनुपर्ने, परीक्षाफल समयमा नै प्रकाशित हुनुपर्ने, पाठ्यक्रम समयानुसार परिमार्जन हुनुपर्नेलगायतका जायज माग राखेर आन्दोलन गर्ने गरेको उनले बताए ।

‘पार्टीको कार्यकर्ता यदि विद्यार्थी भइदिएको भए आज विश्वविद्यालय नीतिअनुसार चल्नुपर्छ, विश्वविद्यालयका विद्यार्थीले समयमा परीक्षाफल पाउनुपर्छ, पाठ्यक्रम परिमार्जन हुनुपर्छ, विश्वविद्यालय समयअनुसार चल्नुपर्छ भनेर विद्यार्थीहरुले दिनदिनै आवाज उठाउँदैनथिए होलान्, दिनदिनै आन्दोलन पनि गर्दैन थिए होलान् । भएको के हो भने विद्यार्थीभन्दा शिक्षकहरु, प्राध्यापकहरुले कुन पार्टीको, कुन नेताको नजिक हुने, कसको नजिक गएर आफू विश्वविद्यालयको पदमा बहाली भइराख्ने भन्ने प्रपञ्चले यो भइरहेको हो । अहिले पछिल्लो समय सुरक्षा थ्रेटको कुरा उठिरहेको छ, त्यो पनि भएको यही हो । पदाधिकारीहरु आफैंले राजनीतीकरण गरे,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्