Logo

तनहुँ बस दुर्घटनाः त्रिवि शिक्षण अस्पताल पुगेर गृहमन्त्री लेखकले लिए घाइतेहरुको उपचारबारे जानकारी



काठमाडौं, ८ भदौ । गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिएका छन् । हिजो (शुक्रबार) पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । सो दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सोही घटनापछि भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् । अहिले उनी पनि घाइतेहरुको उपचारबारे बुझ्न त्रिवि अस्पतालमै छिन् । गृहमन्त्री लेखकले भारतीय राज्यमन्त्रज्ञी खड्सेसँग पनि संवाद गरेको बताइएको छ ।

घाइतेहरुको अवस्थाबारे जानकारी लिएसँगै त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले घाइतेहरुको उचार राम्रोसँग भइरहेको बताए । ‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो । केही मानिसहरुको मृत्यु पनि भएको छ, दुःखद् घटना भएको छ । घाइतेहरुको यहाँ उपचार भइरहेको छ । अहिले राम्रोसँग उपचार भइराखेको छ । भारतबाट पनि एकजना राज्यमन्त्रीजी आउनु भएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुँदोरहेछ, महाराष्ट्रको । उहाँ पनि भेटघाट गरिहनु भएको छ,’– मन्त्री लेखकले भने ।

घाइते १६ जनामध्ये १/२ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था ठीकै रहेको जानकारी पाएको मन्त्री लेखकले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्