Logo

मुकुललाई रविको चुनौतिः ‘मेरोविरुद्ध प्रमाण छन् भने छताछुल्ल पार्दिँदा हुन्छ’



काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध हरकोहीसँग प्रमाण छन् भने छताछुल्ल पारिदिन चुनौति दिएका छन् । आज (शनिबार) चितवन पुगेका लामिछानेलाई सञ्चारकर्मीहरूले ‘तपाईँका पूर्व महामन्त्री मुकुल ढकालले गम्भीर आरोप लगाउनुभएको छ, तपाईँलाई ठग प्रमाणित गर्न सक्छु भनेर । यसमा तपाई के भन्न चाहनुहुन्छ ?’ भनी प्रश्न गरेको थिए ।

उक्त प्रश्नको जवाफ दिँदै लामिछानेले आफूविरुद्धका कुनै प्रमाण भएका हरकोहीले जहाँ छताछुल्ल पारिदिए पनि हुने बताए । केही प्रमाण छन् भने सार्वजनिक गरिदिनुस् भनेर आफूले भनेको आज १०७ दिन भएको पनि उनले सुनाए ।

‘प्रमाणित गर्न चाहने मान्छेहरुको लागि धेरै ठाउँहरु खुल्ला छन् । मेरो सबैले प्रमाण नै खोजिरहेका छन् । जो–कोही हुनुहुन्छ, उहाँहरुले सम्बन्धित निकायमा गएर प्रमाण दिनुभएपनि हुन्छ ।’ लामिछानेले भने, ‘मलाई ज–जसले चुनौति दिनुभएको छ, मैले उहाँहरुलाई प्रमाणित गर्दिनुस् न भनेकै छु । प्रमाण भएका हरकोहीले जहाँ प्रमाण छताछुल्ल पार्दिए पनि हुन्छ भनेर मैले भनेको आज १०७ दिन भयो । जो कोहीसँग प्रमाण छ, प्लिज त्यो प्रमाण उपलब्ध गराइदिनुहोला ।’

रास्वपाका निष्काशित महामन्त्री डा. मुकुल ढकालले सभापति लामिछानेलाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधीका रुपमा प्रमाणित गर्न सक्ने दाबी गरेका थिए । पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ पेश गर्दै उनले रविलाई ‘तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु’ भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्