Logo

छिट्टै महिलालाई प्रधानमन्त्री बनाउने सोचिरहेको छुः प्रधानमन्त्री ओली



काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन् । आज (शनिबार) युथ कनक्लेभ २०२४ मा सहभागीले ‘नेपालले महिला प्रधानमन्त्री कहिले पाउने र कति छिटो पाउने ?’ भनी सोधेको प्रश्नमा उनले आफूले छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको र त्यसका लागि केही तयारी गर्नुपर्ने बताएका हुन् ।
नेपालमा आधाभन्दा बढी जनसंख्या रहेका महिला समुदायको हित, उनीहरुको सबलीकरण, प्रभावकारिता र उनीहरुको भूमिकाको अभिवृद्धिको प्रश्न उठाएको भन्दै ओलीले प्रश्नकर्तालाई धन्यवादसमेत दिए ।

आफूले महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख र पहिलो महिला मुख्यसचिव पनि बनाएको बताउँदै ओलीले आफूलाई ‘शौभाग्यशाली मान्छुे’ को संज्ञा दिए । साथै, महिलाको ३३ प्रतिशत सहभागितामा पनि आफ्नो राम्रो भूमिका रहेको उनले दाबी गरे ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु । तर, त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । मैले दुई महिनामा, तीन महिनामा अथवा अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्ने अलिकति मुस्किल हुनसक्छ । तर, छिट्टै बनाउने तयारी बारेमा मैले सोचिरहेको छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्