काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाली कांग्रेसले महिलालाई प्रधानमन्त्रीमा अगाडि सार्दा आफूहरुलाई आपत्ति नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केपी शर्मा ओलीपछि प्रधानमन्त्रीमा कांग्रेसले महिलालाई अगाडि सार्दा आफूहरुलाई स्वीकार्य हुने बताएका हुन् ।
‘कांग्रेसले आफ्नो डिसिजन गर्नसक्छ । त्यसो हुँदा एमालेलाई कुनै आपत्ति हुँदैन । कसलाई अगाडि बढाउँछ ? त्यो कांग्रेसको विषय हो, कांग्रेसले जसलाई अगाडि बढाएपनि एमालेलाई आपत्ति छैन । अहिले एमालेभित्र त्यो सम्भावना देखिएन,’– उनले भने ।
प्रधानमन्त्री ओलीले शनिबार एक कार्यक्रममा आफूले पहिलो महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश र मुख्यसचिवसमेत बनाएको बताउँदै अब प्रधानमन्त्री पनि महिला बनाउने बताएका थिए । ओलीले उक्त अभिव्यक्तिले कांग्रेस संस्थापनइत्तर समूहमा भूइँचलो गएको छ । प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएसँगै हाल परराष्ट्रमन्त्री रहेकी डा.आरजु राणा देउवालाई कांग्रेसले अगाडि सार्न सक्ने धेरैको बुझाइ छ ।