Logo

सार्वजनिक गाडीमा सांसदको लोगो लगाएर हिँड्दा ठगी काण्डसँग जोडेर व्यङ्ग्य गर्लान् भन्ने डर लाग्न थाल्योः युवराज शर्मा



काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य युवराज शर्माले सार्वजनिक सवारी साधनमा सांसदको लोगो लगाएर हिँड्दा विभिन्न ठगीसँग जोडेर व्यङ्ग्य गर्लान् भन्ने डर बढेको बताए । आज (आइतबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले निवर्तमान गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिनुले देश कतातिर जाँदैछ भन्ने कुरा प्रष्ट भएको बताए ।

उनले रास्वपाका नेताहरुतर्फ लक्षित गर्दै आफ्नो व्यक्तिगत सवारी साधान घरमा थन्क्याएर सार्वजनिक सवारी साधानमा प्रचारको लागि जमर्को गरिएको टिप्पणी गरे । उनले रास्वपाका नेताहरु सार्वजनिक बसमा हिँड्नुलाई ‘लोकप्रियतावादको नशामा उन्मुक्त’ प्रवृत्तिको संज्ञा दिए ।

‘बढ्दो अनियमितता, भ्रष्टाचार, भन्सार छली, सहकारी ठगी, कर छलीमा सरकार र संसद् एकमत, निर्मम र कठोर भइ अगाडि बढ्न नसक्नुलाई दुर्भाग्यपूर्ण नभनी के भन्ने ? सहकारी ठगीमा निवर्तमान गृहमन्त्री स्वयं मुछिनुले देश कतातिर जाँदैछ भन्ने कुरा प्रमाणित हुन्छ । सार्वजनिक सवारी साधनमा सांसदको लोगो लगाएर हिँड्दा कसैले सहकारी ठग वा अन्य काण्डसँग जोडेर व्यङ्ग्य गर्ला भन्ने शंका लागेको छ,’– नेता शर्माले भने ।

नेता शर्माले नेपालको संविधानलाई गरिब देशको धनी संविधानको संज्ञा दिए । अब कि संविधान कार्यान्वयन गर्न सक्नुपर्ने र होईन भने सविधान संशोधन गरेर अलि गरिब बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्