काठमाडौं, ९ भदौ । स्वतन्त्र विद्यार्थी युनियन, नेपाल ल क्याम्पसले छात्रबृत्तिको सुनिश्चितता नभएसम्म नयाँ भर्ना प्रक्रिया अगाडि नबढाउन माग राखेको छ । आज (आइतबार) त्रिभुवन विश्वविद्यालय कानुन संकायका डीन कृष्णप्रसाद बस्याललाई मागपत्र बुझाउँदै स्ववियू नेपाल ल क्याम्पसका पदाधिकारीहरुले नयाँ भर्ना खोल्नु पहिला छात्रबृत्तिको सुनिश्चितता गर्न भनेका हुन् ।
स्ववियू अध्यक्ष विष्णु ढुङ्गेलका अनुसार कानुन संकायअन्तर्गतको बीए.एल.एल.बी र एल.एल.एम. तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति दिइएको छैन । स्ववियू अध्यक्ष ढुङ्गेलले नेपाल ल क्याम्पस, नेशनल ल कजेल र पृथ्वीनारायण बहुमुखी क्याम्पसमा अध्ययनरत कानुन संकायका विद्यार्थीलाई त्रिविको छात्रवृत्ति र पुरस्कार तथा पदकसम्बन्धी कार्य निर्देशिका २०७१ ले निर्धारण गरेबमोजिम छात्रबृत्तिको सुश्चितता नभएसम्म नयाँ भर्ना पक्रिया अगाडि बढाउन नदिने बताए ।
स्ववियूले डीन कार्यालयलाई बुझाएको माग पत्रमा निम्न आय भएका विद्यार्थीहरूलाई कुनै पनि किसिमको छात्रवृत्तिको व्यवस्था नहुनु दुःखद् रहेको बताएको छ । कानुन संकायमा छात्रबृत्तिको सुनिश्चितता स्ववियू निर्वाचनमा सबैजसो विद्यार्थी संघ/संगठनहरूले उठाएको विषय भएको स्मरण गराउँदै मागपत्रमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अन्य संकायहरूमा आन्तरिक स्रोतबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिको व्यवस्था कार्यान्वयनमा आएपनि कानुन संकायको हकमा यो व्यवस्था कार्यान्वयन नहुनु दुःखद् छ ।’
हाल सञ्चालनमा रहेका सम्पुर्ण शैक्षिकशत्र हरुमा छात्रवृत्तिको व्यवस्थापन गरी सोको सुचना प्रकाशित गर्नु पर्ने र आगामी शत्रदेखी छात्रवृत्ति कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने स्ववियूको माग छ । जायज माग पूरा नभएसम्म नयाँ भर्ना प्रक्रिया पनि अगाडि नबढाउन पनि स्ववियूले माग गरेको छ ।
साथै, यथाशीघ्र सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले छात्रवृत्तिको सुनिश्चितता गरी सुचना प्रकाशित नगरेमा स्ववियू जस्तोसुकै कदम चाल्न बाध्य हुने बताइएको छ । त्रिवि कानुन संकायले आफूहरुको माग बेवास्ता गरेमा त्यसबाट सिर्जित सम्पूर्ण परिस्थितिको जिम्मेवार विश्वविद्यालय नै हुनेपर्ने स्ववियूको चेतावनी छ ।