Logo

विद्युत प्राधिकरणको बक्यौता रकममा चलखेल भएको छ भने केपी ओलीमार्फत भएको छः माओवादी नेता दाहाल



काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) का नेता नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकममा कतै चलखेल भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत भएको हुनुपर्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राधिकरणले डेडिकेटेड, ट्रङ्क लाइन प्रयोगकर्ता उद्योगहरुसँग बक्यौता असुल गर्न लाईन काटेको भएपनि प्रधानमन्त्री ओलीको निर्देशनमा जोड्नुपरेको बताए ।

‘पहिला २१ अर्ब ८८ करोड बक्यौता असुल गर्ने, त्यसको नेतृत्व कुलमान घिसिङले नै गरिराख्नुभएको छ । लाईन काटेपछि जोड्ने निर्देशन केपी ओलीले दिएको होईन ? यदि गडबड भएको छ, चलखेल भएको छ भने केपी ओलीमार्फत भएको छ,’– उनले भने ।

उनले उद्योगी व्यवसायीहरुले विद्युत बक्यौता अपरेशन कस्टमा जोडेर जनताबाट लिइसकेको बताउँदै राज्यलाई तिर्न ढिलाइ गर्न नहुने बताए । ‘उद्योगपति व्यापारी जसले विद्युत प्रयोग गर्नुभयो, उहाँहरुले त्यसको मूल्य जोडेर जनतासँग लिइसक्नु भएको छ । त्यसको अपरेशन कस्टमा हालेर पैसा हामीसँग २०७२ देखि ०७६ सम्ममा लिइसकेका छन् भने सरकारलाई राजश्व नबुझाउने ? यदि सामान्य जनताले महशुल नजोडेको भए लाइन जोडिन्थ्यो कि काटिन्थ्यो ?’ उनले प्रश्न गरे ?

साथै, प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा आफूहरुले महालेखा परीक्षकको प्रतिवेदनअनुसार २१ अर्ब ८८ करोड बक्यौता असुल गर्न निर्देशन दिउँ भन्दा सभाति ऋषिकेश पोखरेलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न खोजेको बताए । ‘हामीले बक्यौता असुल उपर गर्न निर्देशन दिउँ भन्यौं । उहाँले पहिले विद्युत प्राधिकरणका प्रमुखलाई कारबाही गरौं भन्नुभयो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्