Logo

एक्जिट पोलिसी र गठबन्धन नगर्ने प्रस्तावबाट झस्किए देउवा, महामन्त्रीद्वयलाई बुढानीलकण्ठमा निमन्त्रणा



काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई बुढानीलकण्ठमा बोलाएका छन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले विश्वप्रकाश र गगनलाई बुढानीलकण्ठमा बोलाएका हुन् ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव राखेका थिए । गठबन्धन गर्दा कांग्रेस कमजोर हुँदै गएको उनको दाबी थियो । अर्का महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ को प्रस्ताव अगाडि सारेका थिए । उनको प्रस्तावमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेका थिए ।

महामन्त्रीद्वयको प्रस्तावमा पार्टी केन्द्रीय समितिमा ब्यापक छलफल भइरहेको छ । देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले केन्द्रीय समितिमा महामन्त्री शर्माको प्रस्तावमाथि ठाडो आलोचना गरेकी थिईन् । महामन्त्री शर्माले अगाडि सारेको एक्जिट पोलिसी लागू भएका पार्टी सभापति देउवा अब प्रधानमन्त्री बन्न पाउने छैनन् । यसअघि पाँचौ पटक प्रधानमन्त्री भइसकेका देउवा अब २३ महिनापछि प्रधानमन्त्री बन्ने लाईनमा छन् । एमाले र कांग्रेसबीच भएको पाँच बुँदे सहमतिमा २ वर्षपछि देउवालाई प्रधानमन्त्री बनाउने उल्लेख छ ।

महामन्त्रीद्वयलाई विश्वासमा लिएर मध्यमार्गी बाटो अपनाउने र मुखमै आएको प्रधानमन्त्री पद नगुमाउने पक्षमा देउवा छन् । सभापति देउवाले भोलि (मंगलबार) विहान महामन्त्रीद्वयलाई बुढानीलकण्डमा बोलाएको स्रोतले बतायो । भोलिको छलफलमा महामन्त्रीद्वयसहित उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कालाई पनि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्