Logo

डेडिकेटेड, टङ्क लाईन विवादमा कुलमानले गलत गरेको भेटियो भने हटाइन्छः मन्त्री अधिकारी



काठमाडौं, ११ भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान सरकार देश र जनताको समस्या समाधान गर्नेगरी अगाडि बढ्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले निरन्तर रुपमा देश र जनताको हितमा काम गरिरहेको बताएका हुन् । उनले काम गर्नका लागि कानुन, नियम, विधिले बाधक भएको खण्डमा संशोधन गरेर अगाडि बढ्ने पनि उनले बताए । ‘हामी परिणाम देखाउने गरी गएका छौं । यो सरकार पूरा समय टिक्छ । यो सरकारले देश र जनताका समस्याहरु हल पनि गर्छ । निरन्तर गर्न मिल्ने कामहरुलाई निरन्तर रुपमा अगाडि बढाएको हुन्छ । अर्को कानुन, नियम, विधिले बाधक गरेको छ भने त्यसलाई संशोधन गरेर अगाडि बढाएर जान्छ । कांग्रेस–एमालेले अहिले देखिएका समस्या समाधान गर्नेगरी अगाडि बढ्छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले डेडिकेटेड, ट्रंक लाईन विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कतै गलत गरेको भए उनलाई सरकारले हटाउने बताए । ‘कसैले गलत गरेको छ भने सरकारले खोजी गर्छ । हिजो म एउटा जिल्लामा पुगेको थिए, अब जतिसुकै भ्रष्टाचारी भएपनि पाँच वर्षपछि उन्मुक्ति पाउँछ रे भन्ने हल्ला छ । हेर्नुुस् त कति गलत हल्ला ? त्यस्तो पनि कहीँ हुन्छ नियम ?’ प्रश्न गर्दै उनले भने, ‘कुलमान घिसिङले गलत गरेको भए उनी हट्छन् । सही नै रहेछन्, हल्लाको भरमा रहेछ भने विधिअनुसार हुन्छ । कूलमान घिसिङको बारेमा धेरै पहिलादेखि कुरा चलेको छ । उहाँले केही न केही गर्नुभएको छ । मेरो मान्छे भनेर हामीले बचाउन गर्यौं भने यो विषयको खोजी हुँदैन । जनतालाई झुक्याउने काम भइरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्